मेरो माइक्रोफाइनान्सको लिलामी शेयरको बोलपत्र राष्ट्रिय नाचघर, जमलमा आज खोलिँदै

0
Shares

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लिलामीमा ल्याएको शेयरको बोलपत्र क्यापिटलको कार्यालय राष्ट्रिय नाचघर, जमलमा बोलपत्र खुला हुँदै छ । अपरान्ह ३ बजे बोलपत्र खुला गर्ने समय निर्धारण गरिएको क्यापिटलले जनाएको छ । लघुवित्तले जेठ ७ गतेदेखि जेठ १४ गतेसम्म दुई लाख ९ हजार ६४९ कित्ता साधारण शेयर लिलाम बढाबढमा बिक्रीमा ल्याएको थियो।

लघुवित्तको शेयरमूल्य धितोपत्रको दोस्रो बजार जेठ १९ गते आइतबार प्रतिकित्ता ५९० रुपैयाँमा कारोबार भएको छ । सोमबारको लिलामीमा कति मूल्य कबुल गर्नेले शेयर पाउँछन् भन्ने चासो आम लगानीकर्तामा रहेको छ। यसअघिका लिलामीहरुमा बजारमूल्यको न्यूनतम ५ देखि अघिकतम १५ प्रतिशतसम्म कटअफ कायम हुँदै आएको छ । यस माइक्रोफाइनान्सको लिलामीको कटअफ पनि पाँचदेखि दश प्रतिशत तल निर्धारण हुने आंकलन गरिएको छ ।

माइक्रोफाइनान्सले फागुन १९ गतेदेखि चैत २४ गतेसम्म एक बराबर एक अनुपातमा ३२ लाख ८९ हजार कित्ता हकप्रद बिक्री खुला गरेकोमा ३० लाख ७९ हजार ३५१ कित्ता शेयर मात्र बिक्री भएको थियो। सो हकप्रद बैशाख १७ गते बाँडफाँड गर्दा बिक्री नभएको सो परिमाणमा शेयर लिलामीमा आएको हो।

माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ११ करोड १८ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएर वार्षिक प्रतिशेयर आम्दानी ४५ रुपैयाँ ३३ पैसा कायम गरेको छ।