विप्रेषणबाट प्राप्त रकम शेयर बजारमा लगानी गर्ने उपाय खोजी गर्न अर्थमन्त्रीको निर्देशन

0
Shares

अर्थमन्त्री डा. युवराज खतिवडाले विप्रेषणबाट प्राप्त भएको रकमलाई शेयर बजारमा लगाउने उपायको खोजीमा लाग्न नेपाल धितोपत्र बोर्ड तथा बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेका छन्।

विप्रेषणबाट प्राप्त हुने रकम घरजग्गा लगायत अन्य दैनिक उपभोगका क्षेत्रमा मात्रै खर्च भइरहेकाले सो रकम शेयर बजारमा मात्रै लगाउनसके अर्थतन्त्रमा केही न केही सुधार हुने अर्थमन्त्रीको भनाई थियो।

नेपाल धितोपत्र बोर्डको २७ औँ वार्षिकोत्सवमा मन्त्री खतिवडाले देशको अर्थतन्त्र क्रमशः सबल बन्दै गएकाले त्यसको प्रतिविम्बन शेयर बजारमा पनि देखिने उल्लेख गरे। मन्त्री खतिवडाले शेयर बजारलाई अनावश्यक रुपमा बढाउने र घटाउने प्रवृत्तिको निरुत्साहनका लागि पनि सम्बद्ध निकायले ध्यान दिनुपर्ने बताए।

बजारमा देखिएका अन्योलता हटेको र सुधारको प्रक्रिया अगाडि बढेको उल्लेख गर्दै उनले शेयर खरीद बिक्रीमा लाग्ने पूँजीगत लाभकर ७.५ प्रतिशतबाट घटाएर पाँच प्रतिशतमा झार्ने प्रस्ताव गरिएकाले अन्योलता हटेकाले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
उनले शेयर बजारमा महिलाको सहभागिता बढाउनुपर्नेमा समेत जोड दिनुभयो । अर्थमन्त्रीले भने “हामीले घरजग्गा रजिष्ट्रेशनमा छुट दिएर हे¥यौँ। शहरी घरजग्गामा महिलाको स्वामित्व आठ प्रतिशतबाट बढेर २८ प्रतिशत पुगेको छ । सानो एउटा सुधारले पनि ठूलो प्रभाव पर्छ ।”

शेयर बजारमा महिलाका स्वामित्व लगानी बढाउन अवलम्बन गर्नुपर्ने उपायको गृहकार्य बोर्डले गर्नुपर्ने अर्थमन्त्रीको जोड थियो।