प्राइम बैंकले ललितपुर फाइनान्स किन्ने, १२८ करोडको बोनस पनि पारित

0
Shares

केहि दिन अघि कन्काई विकास बैंकलाई एक्विजिशन गर्नेे सम्झौता गरेको प्राइम कमर्सियले ललितपुर फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । सो सम्वन्धी सम्झौतापत्रमा शुक्रबार हस्ताक्षर भएको छ ।

सहमतिपत्रमा प्राइम कमर्सियल बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष उदयमोहन श्रेष्ठ र ललितपुर फाइनान्स लिमिटेडका तर्फबाट सञ्चालक समितिका अध्यक्ष दिपक महर्जनले हस्ताक्षर गरे ।

यसअघि प्राइम र कन्काई विकास बैंकबीच जेठ २२ गते बुधबार प्राइम बैंकको मूख्य कार्यालय कमलपोखरीमा एक्विजिसन सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको थियो ।

हाल प्राइम बैंकको चुक्ता पूँजी ८ अर्ब ३ करोड रुपैयाँ छ भने कन्काई विकास बैंकको ५१ करोड ५० लाख रुपैयाँ छ । ललितपुर फाइनान्सको चुक्ता पूँजी २३ करोड ६८ लाख रुपैयाँ छ ।

समस्याग्रस्त संस्थाबाट फुकुवा भएको ललितपुर फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४ करोड १८ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ ।

प्राइम बैंकको एक अर्ब २८ करोडको बोनस बाँड्ने प्रस्ताव पारित

प्राइम कमर्सियल बैंकको आइतबार सम्पन्न एघारौं वार्षिक साधारण सभाले एक अर्ब २८ करोड ५३ लाख २७ हजार ८१९ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १६ प्रतिशत बोनस वितरण गर्न प्रस्ताव गरेको थियो।

हाल ८ अर्ब ३ करोड रुपैयाँ बैंकको चुक्ता पूँजी बोनस पश्चात ९ अर्ब ३१ करोड रुपैयाँ पुग्नेछ । कन्काई र ललितपुर गाभेपछि बैंकको चुक्तापूँजी साढै नौ अर्ब नाघ्नेछ । त्यस्तै साधारण सभाले बैंकको अधिकृत पूँजी १० अर्बबाट २० अर्ब पुर्याउने निर्णय गरेको छ।

आजै ललितपुर फाइनान्स र केहि दिन अगाडि कन्काइ विकास बैंकलाई प्राप्ती गर्ने सम्झौता गरेको बैंकले आगामी दिनहरुमा बैंकको सेवा र शाखाहरुको सञ्जाल विस्तार गर्दै शेयरधनीहरुलाई यथोचित र समय सापेक्ष प्रतिफल वितरण गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

साधारण सभाबाट संस्थापक शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना गरी ५ जना सञ्चालक निर्बिरोध निर्वा्चित चयन गरेको छ। जसमध्ये सस्थापक समुहमा उदय मोहन श्रेष्ठ, नरेन्द्र बज्राचार्य र राजेन्द्र दास श्रेष्ठ रहेका छन्। सर्वसाधारण शेयरधनीको तर्फबाट मनोज पौडेल र प्रचण्डमान श्रेष्ठ निर्विरोध निर्वा्चित भएका छन् ।