इन्भेष्टमेन्ट बैंकको ऋणपत्रमा लगानी गर्ने आज अन्तिम दिन


 

नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्रमा लगानी गर्न चाहने लगानीकर्ताका लागि आज(बिहीबार) अन्तिम हो । बैंकले जेठ २४ गते देखि एक हजार दरका २० लाख युनिट बिक्रीमा ल्याएको थियो ।

बैंकले बिक्रीमा ल्याएको ऋणपत्र मध्ये ४० प्रतिशतले हुने ८ लाख कित्ता सर्वसाधारणमा जारी गरेको हो । बैंकको १२ कित्ता ऋणपत्र संस्थागत तवरबाट बिक्री गर्नेछ ।

बैंकले लगानीयोग्य रकमको अभाव र पूँजीकोषमा दबाब देखिएपछि सात वर्ष अवधिको ऋणपत्र निष्काशन गरेको हो । चालु आवको तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार बैंकको पूँजीकोष अनुपात ११.९७ प्रतिशतमा सिमित भएको छ । गत आवको यसै अवधिमा यस्तो अनुपात १३.२५ प्रतिशत रहेको थियो ।

दीर्घकालीन लगानी स्रोत जुटाउन बैंकले निष्काशन गरेको ‘१०.५ नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८२’ मा लगानीकर्ताले सात वर्षसम्म वार्षिक १०.५ प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा प्राप्त गर्नेछन् ।

बैंकको ऋणपत्रमा लगानी गर्नेले लगातार वार्षिक १०.५ प्रतिशत ब्याजदर पाउनेछन । बैंक तथा वित्तीय संस्थाहरुमा ऋणपत्र धितो राखेर कर्जा लिन सकिने र ऋणपत्रको अवधि समाप्त नहुँदै दोस्रो बजारमा बिक्री गरि लगानी फिर्ता लिन सकिन्छ ।