आर्थिक वर्षको अन्त्यमा बैंकहरुमा निक्षेपमा सुधार आउन थाल्यो


चालु आर्थि वर्षको अन्तिममा बैंकहरुको निक्षेपमा सुधार देखिन थालेको छ । वैशाखको अन्तिम सातादेखि बैंकहरुमा निक्षेप थपिन सुरु भएकोमा सो क्रमले जेठ महिनामा पनि निरन्तरता पाएको छ ।

वैशाख महिनाभर पाँच अर्ब निक्षेप उठाएर २७ अर्ब कर्जा प्रवाह गरेका बैंकहरुले जेठ २४ गतेसम्म ४५ अर्ब निक्षेप उठाएका छन भने १९ अर्ब कर्जा परिचालन गरेका छन् । जेठको तेस्रो साता मात्रै ११ अर्ब निक्षेप उठाएका बैंकहरुले ७ अर्ब कर्जा लगानी गरेका छन् ।

सरकारले पूँजीगत खर्चको रकम भुक्तानी दिने क्रम बढाएपछि बैंकिङ प्रणालमिा निक्षेप आउन थालेको हो । आर्थिक वर्ष सकिन एक महिनाको समय रहदा बैंकहरुले कर्जा विस्तारमा संयमित देखिएपनि कर्जा दिने क्रम भने रोकिएको छैन ।

बैंकहरुले कर्जा विस्तारमा लिएको आक्रमक नीति र निक्षेप संकलनमा सुधार नहुँदा सिसिडि रेसियो समेत सहज अवस्थामा छ । सिसिडि रेसियो तोकिएको सीमा भन्दा माथि पुग्ने भएपछि बैंकहरुले कर्जा विस्तारमा संयम राख्दै निक्षेप संकलनमा जोड दिएका हुन ।

चालु आर्थिक वर्षको जेठ २४ गतेसम्ममा बैंकहरुले कुल २७ खर्ब ५४ अर्ब निक्षेप संकलन गरी २४ खर्ब ६६ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन् । चालु आर्थिक वर्ष अर्थात श्रावण यता बैंकहरुमा २८४ अर्ब निक्षेप थपिएको छ भने ३५५ अर्ब कर्जा परिचालन गरेका छन् । एघार महिनाको अवधिमा बैंकहरुले निक्षेप संकलन भन्दा ७१ अर्ब रुपैयाँ बढी रकम कर्जा परिचालन गरेका छन् ।