बैकिङ प्रणालीमा ५० अर्ब निक्षेप थपियो


स्रोत अभावका कारण समस्या झेलिरहेका बैकहरुले लागि आर्थिक वर्ष सकिनै लाग्द सहज महसुस गर्न थालेका छन । चालु आर्थिक वर्षको ११ औ महिना अर्थात जेठ महिनामा मात्र वित्तीय प्रणालीमा ५० अर्व रुपैयाँ थपिएपछि लगानी योग्य रकमको केही सहजता भएको बैंकरहरु बताउछन । सरकारी खर्चको रकम बैंकमा आउँदा निक्षेपमा बढोत्तरी देखिएको हो ।

बैंकहरुले आक्रामक भएर कर्जा प्रबाह गरेको हुनाले पनि निक्षेप र कर्जाको असन्तुलन भने समाधान भैसकेको छैन । वाणिज्य बैंकहरुले जेठ महिनामा ५० अर्ब निक्षेप संकलन गरेर २२ अर्ब कर्जा लगानी गरेका छन् । जेठको अन्तिम साता बैंकहरुमा पाँच अर्ब निक्षेप थपिएको छ भने कर्जा विस्तार ३ अर्बले बढेको छ ।

सरकारले पूँजीगत खर्चको रकम भुक्तानी दिने क्रम केही बढाएपछि बैंकहरुको निक्षेपमा सुधार देखिएको हो । तर, गत वर्षको तुलनामा बैंकहरुमा निक्षेप बढ्नेक्रम भने सुस्त छ । आर्थिक वर्षको सकिन एक महिना रहदा बैंकहरुले कर्जा विस्तारमा संयमित देखिएपनि कर्जा दिने क्रम भने रोकिएको छैन ।

राष्ट्र बैंकका अनुसार हाल वित्तीय प्रणालीमा ३८ अर्ब तरलता रहेको छ । एक सातमा वित्तीय प्रणालीमा १५ अर्ब तरलता थपिएको हो । अहिले अन्तर बैंक ब्याजदर ६.५ प्रतिशत रहेको छ ।

जेठ मसान्तसम्म बैंकहरुले कुल २७ खर्ब ५९ अर्ब निक्षेप संकलन गरी २४ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन् । चालु आर्थिक वर्ष अर्थात श्रावण यता बैंकहरुमा २८९ अर्ब निक्षेप थपिएको छ भने ३५७ अर्ब कर्जा परिचालन गरेका छन् । एघार महिनाको अवधिमा बैंकहरुले निक्षेप संकलन भन्दा ६८ अर्ब रुपैयाँ बढी रकम कर्जा परिचालन गरेका छन् । समग्रमा बैंकहरुको कर्जा निक्षेपको असन्तुलन भने अझै कायम छ ।
बैंकहरुले कर्जा विस्तारमा लिएको आक्रमक नीति र निक्षेप संकलनमा सुधार नहुँदा सिसिडि रेसियो समेत बढेको थियो । सिसिडि रेसियो तोकिएको सीमा भन्दा माथि पुग्ने भएपछि बैंकहरुले कर्जा विस्तारमा संयम राख्दै निक्षेप संकलनमा जोड दिएका छन् । अधिकाश वाणिज्य बैंकहरुको कर्जा पूँजी निक्षेप (सिसिडि) अनुपात ८० को हाराहारीमा भएकाले कर्जा दिनका लागि नयाँ निक्षेप आवश्यक हुन्छ ।
गत वैशाखमा बैंकहरुमा ५ अर्ब निक्षेप थपिदा २७ अर्ब कर्जा लगानी बढेकोे थियो । चैत्रमा २९ अर्ब निक्षेप संकलन गरेका बैंकहरुले २२ अर्ब कर्जा लगानी गरेका थिए भने फागुनमा ४ अर्ब निक्षेप उठाएका बैंकहरुले ९ अर्ब कर्जा परिचालन गरेका थिए । गत माघमा २१ अर्ब निक्षेप उठाएका बैंकहरुले ४५ अर्ब कर्जा लगानी गरेका थिए ।