नक्कली भ्याट बनाई ठगि गर्ने विरुद्ध तीन अर्ब विगो सहित विभागले हाल्यो मुद्दा


राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल बनाएर राजश्व चुहावट गरेको अभियोगमा १५ जना विरुद्ध जिल्ला अदालत काठमाडौमा मुद्दा हालेको छ । विभागले गोपालप्रसाद भट्टराई सहितबाट दुई अर्ब ९८ करोड ५७ लाख रुपैयाँको बिगो कायम गरी मुद्दा दर्ता गरेको हो ।

विभागले जिल्ला अदालत काठमाडौमा दर्ता गराएको मुद्धामा भट्टराईलाई तीन बर्ष कैद र विगोको दुई गुणा जरिवाना समेत माग गरिएको छ । उनमाथि झुट्टा तथा नक्कली विजक तयार एवं विक्री गरी राजस्व छली गरेको आरोप लगाईएको छ ।

इनरुवा घर भई हाल भत्तपुर बस्ने भट्टराईले विभिन्न व्यक्तीहरुको नाममा ८ वटा फर्महरु दर्ता गराई ठगी गरिएको भेटिएको विभागले जनाएको छ । विभागका अनुसार विनोद धमाला, सन्तोषकुमार कार्की, मेघबहादुर श्रेष्ठ, धनबहादुर भोम्जन, भरतबहादुर दुम्जन, विमल पुतुवार, नारायण कोइराला (दमाई) र पार्वती सूचीकार समेतका नाममा दर्ता गरिएका फर्ममा गोपालप्रसाद भट्टराई र रिम्वरध्वज कार्कीले सम्पूर्ण आर्थिक कारोवार गर्ने गरको विभागले जनाएको छ ।

विभागका अनुसार, उनीहरुले ९० करोड १६ लाख ८४ हजार ४९० रुपैयाँको झुट्टा बिजक जारी गरेका थिए । त्यसकैका आधारमा विभागले २ अर्ब ९८ करोड ५७ लाख रुपैयाँको विगो कायम गरेको हो । बाँकी प्रतिवादीलाई भट्टराईको भन्दा आधा सजायको माग विभागले गरेको छ ।