सबैको लघुवित्तले ५ करोड ३० लाख रुपैयाँको आइपिओ जारी गर्न पायो अनुमति

0
Shares

सबैको लघुवित्त वित्तीय संस्थाले पाँच करोड ३० लाख रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्ने अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले लघुवित्तलाई एक सय रुपैयाँ अंकित दरमा ५ लाख ३० हजार कित्ता सर्वसाधारण शेयर निष्काशन गर्न अनुमति दिएको हो ।

लघुवित्तमा संस्थापकहरू तर्फको ७० प्रतिशत बराबरको ११ करोड २० लाख रूपैयाँ चुक्ता पूँजी भइसकेको छ भने आईपिओ बिक्रीपछि कम्पनीको चुक्तापूँजी १६ करोड ५० लाख रूपैयाँ पुग्नेछ । कम्पनीको अधिकृत पूँजी २० करोड रूपैयाँ छ। संस्थाले सर्वसाधारणको लागि ३२.१२ प्रतिशत शेयर निष्काशन गर्नेछ।

प्राथमिक शेयर निष्काशनका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआइबिएल क्यापिटल रहेको छ।

संस्थाले प्राथमिक शेयर निष्काशन गर्न ‘इक्रा एनपि आइपिओ ग्रेड चार’ प्राप्त गरेको छ। इक्रा नेपालले गरेको क्रेडिट रेटिङमा मध्यम किसिमको सुरक्षा जनाउने रेटिङ प्राप्त गरेको हो।

तनहुँको बन्दीपुर १ डुम्रेमा केन्द्रीय कार्यालय रहेको लघुवित्तले दोस्रो वार्षिक साधारण सभाबाट आईपिओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो । हाल ३८ वटा शाखा कार्यालय मार्फत वित्तीय कारोबार गर्दै आएको छ। लघुवित्तले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा २ करोड १९ लाख रूपैयाँ खुद नाफा कमाएको छ ।