लगानीकर्ताको संख्या १५ लाख भएपनि दोस्रो बजारमा १ लाख २१ हजार मात्रै सक्रिय


धितोपत्र बजारमा जोडिएका लगानीकर्ताको संख्या साढे १५ लाख पुगेका छन् । तर ति मध्य धितोपत्रको दोस्रो बजारमा सक्रिय लगानीकर्ता भने एक लाख २१ हजार २ सय १० जना मात्र रहेका छन्।

सेयर बजारमा कति भन्ने प्रश्न सधै उठिरहेको भएपनि केन्द्रिय निक्षेप सेवा सञ्चालनमा आएपछि सेयर कारोबारका लागि डिम्याट खाता अनिवार्य हुदाँ सेयर बजारमा जोडिएका लगानीकर्ताको करिब संख्या आकालन गर्न सहज भएको हो । डिम्याट खाताका आधारमा लगानीकर्ताको संख्या गणना गर्दा सोमबारसम्ममा १५ लाख ४१ हजार ७ सय ९७ जना रहेकको देखिन्छ । त्यसमध्ये करिब १० हजार दोहोरो खाता अर्थत एकै ब्यक्तीले एक भन्दा बढी खाता खोलेका छन् । तर, अहिले सेयर बजारमा १३ लाख २३ हजार ९२६ जना लगानीकर्ता रहेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)को आइटि प्रमुख निरञ्जनसिंह नायकले जानकारी दिए ।

यसमध्ये सेयर बजारमा १ लाख २१ हजार २ सय १० जना सक्रिय लगानीकर्ता रहेको उनले बताए । सक्रिय लगानीकर्ता मध्ये ११ हजार २ सय ४६ जनाले मात्रै अनलाइन यूजर लिएको नायकको भनाइ छ ।

धितोपत्रको दोस्रो बजारमा कारोबार गर्नका लागि अनलाइन यूजर लिनेमा उपत्यका बाहिरका बढी रहेको नेप्सेले जनाएको छ ।

सोमबार अनलाइन कारोबार प्रणालीको विषयमा जानकारी दिदै नेप्सेले नयाँ कारोबार प्रणाली सुरु भएपछि करिब २ लाख ९४ हजार लगानीकर्ताले मात्र आफ्नो विवरण अद्यावधिक गराएको जनाएको छ । अनलाइन प्रणाली सुरुभएयता ११ हजार २ सय ४६ जना लगानीकर्ताले अनलाइन यूजर लिएर दोस्रो बजारमा कारोबार गरेका छन् ।

नेप्सेले अनलाइन प्रणाली सुरु गरेको ८ महिनामा १० वटा समस्या देखिएको र त्यसलाइ पनि समाधान गरिसकेको जनाएको छ । कारोबार प्रणालीमा डाटा डिस्प्ले, यूनिक क्लाइन्ट कोड (यूसीसी), पुरानो लगानीकर्ताको केवाईसी अपडेट, डीएनए लगिङ, नयाँ सुचीकरण भएको कम्पनीको पहिलो दिनको कारोबार, जिटीसी अर्डर मोडिफिकेसन, सीडीएससी सँग प्रणाली इन्ट्रिग्रेसन, क्लियरिङ बैंकसँग इन्ट्रिग्रेसन, प्रणाली सञ्चालनमा ब्रोकरहरुको अभ्यस्तता र ब्रोकरको प्रणालीमा फ्लोरसिट डिस्प्ले जस्ता समस्या देखिएको भएपनि सबै समस्याको समाधान भइसकेको नेप्सेले जनाएको छ ।

चालु आर्थिक वर्षको ११ महिना १५ दिनमा नेप्सेमा कुल ७७ अर्ब ७४ करोड ७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये १० अर्ब ६० करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार अनलाइन प्रयोगकर्ताले गरेका छन् ।

चालु आर्थिक वर्षको यो अवधिमा १० लाख ६ हजार ३८६ मध्ये १ लाख ४५ हजार ६१७ कारोबार अनलाइन प्रयोगकर्ताले गरेका छन् ।  १० कारोबार दिनमा १० हजार भन्दा बढी संख्यामा कारोबार भएको छ भने अधिकतम दैनिक कारोबार संख्या १६ हजारसम्म पुगेको नेप्सेले जनाएको छ । नेप्सेले गत कात्तिक २० गते बाट अनलाइन प्रणाली सञ्चालनमा ल्याएको हो ।

सेयर बजारमा लगानीकर्ताको संख्या वढेको भनेपनि दोस्रो बजारमा लगानीकर्ता भित्रीन सकेका छैनन् । दोस्रो बजार तुलनात्मक रुपमा जोखिक युक्त भएकाले पनि लगानीकर्ताको संख्या कम भएको हो । तर, दोस्रो बजारमा पनि लगानीकर्ताको सहभागीता नवढाउदासम्म बजारको विस्तार तथा विकास हुँदैन ।