घोडीघोडा लघुवित्तको आईपिओ खुल्यो, यस्तो छ कम्पनीको वित्तीय प्रक्षेपण

0
Shares

घोडीघोडा लघुवित्त वित्तीय संस्थाको आईपिओको बिक्री असार २० गते शुक्रबारदेखि खुला भएको छ ।

लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा एक करोड ३२ लाख ६० हजार रुपैयाँ बराबरको एक लाख ३२ हजार ६०० कित्ता शेयर निष्काशन गरेको छ ।

कुल निष्काशित शेयरमध्ये एक हजार ३८० कित्ता लघुवित्तका कर्मचारीलाई र ६ हजार ६३० सामुहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी एक लाख २४ हजार ५९० कित्ता शेयर सर्वसाधारणमा बिक्री खुला गरिएको हो ।

लघुवित्तले जारी पूँजीको ४८ प्रतिशत बराबरको सार्वजनिक निष्काशन गरेको हो । जसको शेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता अर्थात एक हजार रुपैयाँदेखि एक हजार कित्ता अर्थात एक लाख रुपैयाँसम्मको आवेदन दिन पाउने बिक्री प्रबन्धकले जनाएको छ ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट सिआश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका सम्पूण कार्यालय तथा मेरोशेयरबाट समेत आवेदन दिन सक्नेछन्। उक्त आईपिओमा असार २५ गते बुधबारसम्म आवेदन दिन पाइनेछ ।

यस्तो छ वित्तीय प्रक्षेपण

हाल कम्पनीको अधिकृत पूँजी १० करोड, जारी पूँजी २ करोड १२ लाख ५० हजार र चुक्ता पूँजी एक करोड १० लाख ५० हजार छ। घोडीघोडाले आइपीओ बिक्रीपछि चुक्ता पुँजी २ करोड ७६ लाख २५ हजार रुपैयाँ पुर्याउने छ ।

आईपिओबाट संकलन भएको रकममध्ये ५० लाख रुपैयाँ कृषि क्षेत्र, ३२ लाख ६० हजार रुपैयाँ व्यापार व्यवसाय र ५० लाख रुपैयाँ लघु उद्यम कर्जामा उपयोग गरिने कम्पनीले जनाएको छ ।

लघुवित्तले आर्थिक वर्ष २०७६।७७ मा ३ करोड ३१ लाख ५० हजार र आव २०७७।७८ मा ४ करोड ६४ लाख १० हजार रुपैयाँ चुक्ता पुँजी पुर्याउने प्रक्षेपण गरेको छ । यस्तै, आव २०७६।७७ मा ७७ लाख ५९ हजार र आव २०७७।७८ मा १ करोड १९ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाउने अनुमान छ ।

कञ्चनपुरमा केन्द्रीय कार्यालय भई कैलाली र कञ्चनपुर जिल्लाका ६ वटा शाखाबाट कारोबार गर्दै आएको छ ।