सिद्धार्थ बैंक र यूकेएड सक्षमबीच सम्झौता, उद्यमशीलता प्रवर्धन गर्न सहजीकरण गर्ने

0
Shares

सिद्धार्थ बैंक र युकेएड अन्तर्गतको सक्षम एक्सेस टु फाइनान्सबीच लघु तथा साना उद्यमीहरुका लागि प्रवर्धन गर्नका लागि साझेदारी भएको छ । शुक्रबार सोल्टी क्राउन प्लाजामा भएको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतम र सक्षम टोलिका प्रमुख निर्मल दाहालले हस्ताक्षर गरेका हुन्।

दुई संस्थाबीचको सहकार्यले साना तथा मझौला उद्योगीहरुले सहज रुपमा बैकिङ्ग सेवा पाउने भएका छन्। बैंकले साना तथा मझौला उद्योग कर्जा सम्बन्धी आफनो कार्यक्रमको पुनः संरचना गरी सहज रुपमा बैकिङ्ग सुविधा दिने भएको हो ।

विषेशगरी मध्यम स्तरको लगानी रकम आवश्यकता परेका तर परम्परागत संयन्त्रहरुबाट ऋण प्राप्त गर्न सक्ने अवस्थामा नरहेका व्यवसायहरुको आवश्यकतालाई दूई संस्थाकोबीचको सहकार्यले सम्बोधन गर्नेछ । त्यस अनुसार नविनतम् तथा दिगो पद्धति मार्फत साना तथा मझौला उद्योगहरुको वित्तीय अवश्यकतालाई पुरा गर्ने बैंकले जनाएको छ ।

यस्तो सहकार्यले निम्न आय भएका मानिसहरुको वित्तीय आवश्यकता पुरा गर्न तथा उद्यमशीलता परवद्र्धन गर्न सहजीकरण गर्ने लक्ष्य लिएको छ । बैंकले शाखा संञ्जालको बृहत उपयोग गरी देशभर लघु तथा साना व्यवसायहरुलाई अनुकुल हुनेगरी व्यवसाय ढाँचालाई पुनः संरचना गरी उत्पादन तथा सेवा प्रवहा संयन्त्रलाई संसोधन गर्ने जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गौतमले बैंकले साना, लघु तथा मझौला उद्योगहरु अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको बताए । यस्तै बैंकले थप नविनतम् वित्तीय उत्पादन तथा सेवारुको थालनी तथा विस्तार गरी थप व्यवस्थित रुपमा काम गरेर साना तथा मझौला कर्जा क्षेत्रको अग्रणी रुपमा रहेको उनको भनाई छ।

यस्तै सक्षम टोलीका प्रमुह दहालले सिद्धार्थ बैंकसंगको सहकार्यले साना तथा मझौला उद्योगहरुको वित्तीय पहुँचमा सुधार हुने बताए। सक्षम एक्सेस टु फाइनान्स युकेएडबाट वित्तीय सहयोग प्राप्त कार्यक्रम हो।