ई–पेमेन्टले पूँजी बजारमा थप सुविधा, शेयर कारोबारको राफसाफ पनि अनलाइनबाटै

0
Shares

शेयर बजारका लगानीकर्ताले अब अनलाइन मार्फत ब्रोकरहरुलाई कारोबारका लागि धितो राख्न वा भुक्तानी रकम ट्रान्स्फर गर्न सक्नेछन् । साथै ब्रोकरहरुले पनि बिक्री प्रकृया वा धितो फिर्ताका लागि भुक्तानी लिन सक्नेछन् ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले अनलाइन शेयर कारेबारका लागि आफ्नो ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को ई–पेमेन्ट प्रणालीहरु, एनसीएचएल आईपिएस तथा कनेक्ट आईपिएस ई पेमेन्ट प्रणाली पूर्ण रुपमा ईन्टिग्रेट गरेपछि लगानीकर्ताले यस्तो सुविधा पाउने भएका हुन् ।

शेयर कारोबारको राफसाफ अनलाइनबाटै गर्नका लागि लगानीकर्तालाई टिएमएस लगइन्न (सम्बन्धित ब्रोकरले प्रदान गरेको) तथा कनेक्ट आईपिएस कम्तिमा एउटा बैंक खातासँग लिङ्क भएको आईडी आवश्यक पर्दछ । लगानीकर्ताले टिएमएस खातामा धितोका लागि उपलब्ध कनेक्ट आईपिएस भुक्तानी मार्फत फण्ड लोड गर्न साथै शेयर खरिद पश्चात उनीहरुले ब्रोकरलाई टिएमएसमा उपलब्ध त्यही च्यानल मार्फत प्रत्यक्ष भुक्तानी दिन सक्नेछन् ।

भुक्तानीका लागि कनेक्ट आईपिएस चयन गरेपछि लगानीकर्ताहरु कनेक्ट आईपिएस लगईन पेजमा रिडाइरेक्ट हुनेछन् र आफ्नो आईडी प्रयोग गरि धितो वा ब्रोकरको भुक्तानीका लागि सिधै इच्छा अनुसारको लिङ्क गरिएको बैंक खातावाट फण्ड लोड गर्न सक्नेछन् ।

त्यस्तै लगानीकर्ताले टिएमएसबाट धितो फिर्ताका लागि गरिएको अनुरोध तथा ब्रोकरले शेयर बिक्री पश्चात गर्नु पर्ने भुक्तानी लिङ्क गरिएको लगानीकर्ताको बैंक खातामा कनेक्ट आईपिएस वा एनसीएचएल आईपिएस प्रणाली मार्फत सिधैं भुक्तानी गर्न सक्नेछन् ।

नेप्सेले अनलाइन कोरोबार भुक्तानीलाई स्वचालित बनाउन दुवै प्रणालीहरु इन्टिग्रेट भए पश्चात ई–पेमेन्टले पूँजी बजारमा थप सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ । एनसीएचएलले यस अघि लाभांस भुक्तानी, रिफण्ड, डिम्याट तथा मेरो शेयर शुल्क भुक्तानी तथा ट्रेड भुक्तानी जस्ता कोरोबारहरु गर्दै आएको थियो ।