आँधिखोला लघुवित्तको आईपीओ आइतबारदेखि खुल्दै

0
Shares

आँधिखोला लघुवित्तले असार २२ गतेआइतबारदेखि साधारण शेयर निष्काशन गर्दैछ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा ४ लाख कित्ता आईपीओ खुला गर्न लागेको हो।

कुल निष्काशित आईपीओमध्ये ५ हजार कित्ता लघुवित्तका कर्मचारीहरु र २० हजार कित्ता सामुहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । ३ लाख ७५ हजार कित्ता सर्वसाधारणहरुमा निष्काशनमा ल्याइनेछ। जसमा लगानीकर्ताले असार २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

आईपीओमा लगानीकर्ताले मेरो शेयरका साथै सी–आस्वाको माध्यमबाट आवेदन दिन सक्नेछन् । सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम दुई हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्। लघुवित्तको शेयर बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ ।

आँधिखोला लघुवित्तले जारी गर्न लागेको ४ करोडको आईपीओलाई इक्रा नेपालले औसत आधारहरु जनाउने ग्रेड ४ रेटिङ्ग प्रदान गरेको छ। इक्राले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ । जसमा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ भने ग्रेड ५ ले कमजोर आधारहरु जनाउँछ। ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लस चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाइ जनाउँदछ ।

तर कम्पनीको आधारहरु सम्बन्धी राय ब्यक्त गरिएको आईपीओ ग्रेडिङ्गले कुनै धितोपत्र खरिद, बिक्री तथा स्वामित्वमा राख्न सिफारिस गरेको जनाउँदैन ।

हाल कम्पनीको चुक्ता पूँजी  ६ करोड छ । प्राथमिक शेयर बिक्री पश्चात आँधिखोला लघुवित्तको चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्नेछ। जसमा संस्थापक तर्फ ६० प्रतिशत अर्थात ६ करोड रुपैयाँ र सर्वसाधारण तर्फ ४० प्रतिशत अर्थात ४ करोड रुपैयाँ कायम हुनेछ। कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ छ भने आगामी तीन आवमा ३७ रुपैयाँ पुग्ने प्रक्षेपण संस्थाको छ। 

स्याङ्जा केन्द्रीय कार्यालय रहेको संस्थाको कार्यक्षेत्र १० वटा जिल्लामा रहेको छ। हाल १९ वटा शाखा कार्यालय मार्फत वित्तीय कारोबार गर्दै आएको छ।