धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक उकालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.४५ विन्दुले बढेर एक हजार २५९.०१ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९७ विन्दुले बढेर २७१.२५ मा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से उकालो लागेपनि कारोवार रकममा भने उल्लेख्य वृद्धि भएन । कूल १६१ कम्पनीको १९ लाख ५६ हजार ६३० कित्ता शेयर ३४ करोड ७२ लाख ८९ हजार २७५ मूल्यमा खरिद बिक्री भए ।
स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूह नै वृद्धि भएको छ । बैंकिङ ४.१३, होटल ५६.०८, विकास बैंक ५.९९, जलविद्युत् १.१६, वित्त ५.१४, निर्जीवन बीमा १०.४६, उत्पादन ७.०९, अन्य २.२३, लघुवित्त ५.५, जीवन बीमा १.७३ र सामूहिक लगानी कोष ०.४८ विन्दुले बढे । आज चालू आर्थिक वर्षको अन्त्य र बुधबारदेखि नयाँ आर्थिक वर्ष शुरु हुने भएकाले पनि शेयर बजारमा लगानीकर्ताको चासो बढेको हो ।
स्टकका अनुसार कारोवारका आधारमा आज नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो बैंकको पाँच करोड ७८ लाख ७२ हजार ५७७, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी तीन करोड ४४ लाख ५० हजार, नबिल बैंक दुई करोड ६ लाख ९० हजार ४८६, शिवम् सिमेन्ट एक करोड ४९ लाख ६९ हजार ९३४, नेशनल लाइफ इन्स्योरेन्स एक करोड २९ लाख ३० हजार ५४३ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ ।
स्टकका अनुसार नबिल इक्विटी फण्डका लगानीकर्ताले ९.१२ प्रतिशतले कमाए । सिभिल लघुवित्त वित्तीय संस्था ८.८२, सिटिजन म्यूचल फण्ड ८.३०, एनएमबी हाइब्रिड फण्ड ७.८५ र अरुण काबेली पावरका शेयरधनीले ६.२१ प्रतिशतले कमाए । त्यस्तै आँखु खोला जलविद्युत् कम्पनी ४.१६, रिडी हाइड्रो ३.२२, स्वरोजगार लघुवित्त वित्तीय संस्था २.८६, फस्टमाइक्रो फाइनान्स डेभलपमेन्ट २.८४ र सानिमा माई हाइड्रोपावारका शेयरधनीले २.३९ प्रतिशतले गुमाए ।
प्रतिक्रिया