मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली आजदेखि लागू

0
Shares

‘मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटिएस)’ आजदेखि लागू भएको छ ।

राजश्व अनुसन्धान विभागद्वारा बुधबार आयोजित कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले एक कार्यक्रममा भिसिटिएसको शुभारम्भ गरे ।

भिसिटिएस वेबमा आधारित केन्द्रीय सूचना प्रणालीमा व्यावसायिक प्रयोजनका मालवस्तु तथा ढुवानी साधनको संक्षिप्त विवरण प्रविष्ट गरेर मात्र मालसामान ओसार–प्रसार गर्नुपर्ने व्यवस्था हो ।

व्यावसायिक प्रयोजनका मालवस्तु आयात÷निर्यातकर्ता, उद्योग, भन्सार एजेण्ट, ढुवानी कम्पनी र वितरक तथा थोक बिक्रेताले थोक स्तरमा बिक्री गर्दा यस प्रणालीमा प्रवेश गरेर ढुवानी गर्नुपर्छ ।

राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को व्यवस्थाअनुसार गत असार २३ गते राजपत्रमा प्रकाशित गरी साउन १ गतेदेखि यो प्रणाली लागू गरिएको हो । यो प्रणाली प्रविष्ट गर्दा प्रयोगकर्ताले आफैँले युजर आइडी र पासवर्ड बनाउन सक्छन् ।

विभागको वेबसाइटमा लगइन गरी प्राप्त निर्देशानुसार मालवस्तु र ढुवानी साधनको संक्षिप्त विवरण प्रविष्ट गरिन्छ । मालसामान गन्तव्यमा पुगेपछि चालक र प्रयोगकर्ताले पुगेको जनाउ दिन सक्छन् ।

भिसिटिएसको शुभारम्भ गर्दै अर्थमन्त्री डा खतिवडाले भिसिटिएस व्यवसायलाई औपचारिक, वैध र पारदर्शी बनाउने कडी भएको बताए। उनले भने, “भिसिटिएस विधिमा आउने व्यावहारिक कठिनाइ हामी पनि बुझ्छौँ, अपारदर्शी अनौपचारिक व्यवसायबाट हामी पारदर्शी व्यवसायतर्फ रुपान्तरित हुने क्रममा छौँ । यो क्रममा हामी प्रविधिको प्रयोगले व्यवसायीसँग ‘फेसलेस’ विधिबाट ‘इन्टरफेस’ गर्न खोजिरहेका छौँ ।”

उनले अनुहार हेरेर काम गर्दा मोलाहिजा हुने डर र अनुहारका प्रतिक्रियाले कहिलेकाहीँ अस्वाभाविक अपेक्षा पनि गर्ने अवस्था तथा प्रतिक्रिया पनि उत्पन्न हुने भएको उल्लेख गरे । अर्थमन्त्रीले भिसिटिएसले व्यवसाय तटस्थ हुने र स्वविवेकीय अधिकारलाई स्वतः कम गर्नाका साथै औपचारिक अर्थतन्त्रको निर्माण गर्नेतर्फ थप सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

उनले भने, “भिसिटिएस लागू गर्ने क्रममा क्षमता विकास गर्दै जाने हो, सिक्दै जाने हो, प्रविधिबाट भाग्न पाइँदैन ।” मुलुकको आधा अर्थतन्त्र अनौपचारिक भएको अवस्थामा वैध र अवैध कारोवार गर्नेलाई एकै डालोमा हालेर हेर्न थालियो भने मुलुकमा सुशासन कायम गर्न नसकिने उनको धारणा थियो ।