हिमालयन बैंकको तीन अर्बको ऋणपत्रमा आवेदन खुल्यो, दश प्रतिशत ब्याज

0
Shares

हिमालयन बैंकको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख युनिट ऋणपत्र बिक्रीमा आएको छ । बैंकले एक हजार रुपैयाँ अंकित दरमा ३० लाख कित्ता ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८३’ जारी गरेकोे हो ।

बैंकले कूल निष्काशनमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको ब्यक्तिगत तवरबाट विभिन्न संघ संस्था तथा संस्थापक शेयरधनीहरुलाई बिक्री गर्नेछ । र बाँकी ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्रमा सर्वसाधारण आवेदन गर्न सक्नेछन्। सर्वसाधारण मध्येको पनि ६० हजार कित्ता सामूहिक लगानीकोषहरुलाई छुट्टाईएको छ।

सात वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक १० प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गरिने बैंकले जनाएको छ ।

ऋणपत्र बिक्रीबाट बैंकलाई साउन महिनामा ३ अर्ब रुपैयाँ बराबरको तरलता बढ्ने भएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार बैंकको पूँजीको अनुपात ११.८२ प्रतिशतमा झरेकाले पनि बैंकलाई पूँजी बढाउनुपर्ने बाध्यता छ ।

ऋणपत्र बिक्रीको पाँच प्रतिशत रकम पूँजी कोषमा गणना गर्न सकिन्छ । वाणिज्य बैंकले कम्तिमा ११ प्रतिशत पूँजीकोष कायम गनुृपर्छ। यसो कायम नभएमा सो बैंकलाई राष्ट्र बैंकले कारबाही गर्ने गर्दछ ।

बैंकको ऋणपत्र खरीद गर्न चाहाने लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयरबाट छिटोमा साउन ६ गतेसम्म आवेदन गर्न पाउनेछन। सो अवधिमा सबै ऋणपत्र खरीदका लागिआवेदन नपरेमा लगानीकर्ताले साउन ३१ गतेसम्म आवेदन गर्न पाउने ब्यवस्था रहेको छ।

बैंकले सेवा विस्तार गर्ने क्रममा लगानी बढाउन,वित्तीय तथा आर्थिक गतिविधिलाई विस्तार गर्न, बैंकको पूरक पूँजीकोष वृद्धि गरेर पूँँजीगत आधार मजबुत बनाउन ऋणपत्र जारी गर्न लागेको जनाएको छ।

हिमालयन बैंकले यसअघि आठ प्रतिशत ब्याजदरमा ७ वर्षे अवधिको हिमालयन बैंक लिमिटेड बण्ड २०७७’ जारी गरेको थियो। उक्त ऋणपत्र परिपक्क हुने अवधि नजिकिँदै गएपछि बैंकले दीर्घकालिन स्रोत परिचालनका लागि अर्को ऋणपत्र निष्काशनको तयारी गरेको हो।