लगानीकर्ताले दिए कडा आन्दोलनको चेतावनी, पूँजीबजारलाई कागजी युगमै फर्काउन खोजिएको आरोप

0
Shares

नेपाल इन्भेष्टर फोरमले पूँजीगत लाभकर निर्धारणको प्रक्रियाले अनलाइन प्रणालीमा प्रवेश गरिसकेको शेयर बजारलाई पुनः कागजी युगमै धकेल्ने प्रयास भएको ठहर गर्दे भारित औसत दरमा पूँजीगत लाभकर निर्धारण सीडीएस एन्ड क्लियरिङ लिमिटेडबाटै गर्ने व्यवस्था गर्न जोडदार माग गरेको छ ।

फोरमले बिहीबार एक विज्ञप्ति जारी गर्दै लगानीकर्ता स्वंयमले भारित औसत लागत निर्धारण गर्ने परिपाटीले पूँजीबजारलाई पुनः कागजी प्रक्रियामा धकेलिदिएको र लगानीकर्ताहरु पुनः ब्रोकर अफिसमै धाउनुपर्ने अवस्था झन्झट र अव्यवहारिक भएको ठहर गर्दे तत्काल भारित औसत दरमा पूँजीगत लाभकरको निर्धारण सिडिएससीबाट नै गराउने व्यवस्था गर्न माग गरेको छ ।

भारित औसत लागत (वेटेड एभरेज) को हिसाब लगानीकर्ताले नै निकाल्नुपर्ने र प्रत्येक दिन ब्रोकर कार्यालयमा गएर फारम भर्नुपर्ने हो भने लगानीकर्ता फेरि आन्दोलनमा उत्रिन बाध्य हुने समेत फोरमले विज्ञप्तिमार्फत जनाएको छ ।

नेपाल सरकारले स्पष्टसँग भारित औसत दरमा पूँजीगत लाभकर निर्धा्रित गर्नका लागि ऐन संसोधन भई कार्यान्वयनमा गइसकेको र पूँजीबजारमा लगानी गर्ने लगानीकर्ताको सम्पूर्ण कारोबारको विवरण, लागत समेत सिडिएसी र ब्रोकर कम्प्युटर सिस्टममै रहेको र सोअनुसार नै भारित औसत दरमा पूँजीगत लाभकर प्रविष्ट गर्ने गरी गत वर्ष सर्वपक्षीय सहमति भएको फोरमले स्मरण गराएको छ ।

गत आर्थिक वर्षमा पूँजीगत लाभकरको गणना विधि सम्बन्धमा द्विविधा भएकोले नेपाल सरकार, धितोपत्र बोर्ड, नेप्से, सिडिएससी र नेपाल इन्भेष्टर्स फोरमका प्रतिनिधि र ब्रोकर एशोसिएसनका प्रतिनिधि समेतको उपस्थितिमा भारित औसत दरको आधारमा पूँजीगत लाभकर लगाउने आपसी सहमति भई सो बमोजिम नेपाल सरकारको आर्थिक विधेयक आएको फोरमको दाबी छ ।

भारित औसत दरमा पूँजीगत लाभकरको निर्धारण सिडिएससीबाट गराउने व्यवस्था नभए गत वर्ष झै आन्दोलनमा उत्रिने फोरमको चेतावनी छ । पूँजी बजार अनलाइन प्रणालीमा प्रवेश गरिसकेको छ । स्वदेशका दूरदराज तथा विदेशमा बसेर समेत नेपालीले सेयर कारोबार गरिरहेका छन् । यस्तो अवस्थामा पुनः लगानीकर्ता ब्रोकर कार्यालय नै धाउनुपर्ने झन्झट र अव्यवहारिक अवस्थ उत्पन्न नगर्न समेत माग गरिएको छ ।