आस्वा सदस्यता नविकरण नगराउने बैंक तथा वित्तीय संस्थाका ग्राहक शेयर आवेदन गर्नबाट बञ्चित

0
Shares

नेपाल धितोपत्र बोर्डबाट आस्वा सदस्यता लिएका १६ बैंक तथा वित्तीय संस्थाले समयमै सदस्यता नविकरण नगर्दा ती संस्थामा खाता भएका ग्राहक सार्वजनिक निष्काशनमा आवेदन गर्नबाट बञ्चित हुनुपर्ने अवस्था आएको छ ।

बोर्डबाट आश्वा सदस्यता लिएका तर चालु आवको समाप्ती पश्चात समयमा नै नवीकरण नगर्ने ति संस्थाहरुलाई बोर्डले सार्वजनिक निष्काशन (आईपीओ, एफपीओ तथा हकप्रद लगायत) मा रोक लगाएको हो।

हालसम्म धितोपत्र बोर्डबाट ६३ संस्थाले आस्वा सदस्यता लिएकोमा ४७ बैंक तथा वित्तीय संस्थाहरुले मात्र सदस्यता नवीकरण गराएका छन् । नवीकरण नगराउने संस्थाहरुमा एघार वटा विकास बैंक र पाँच वटा फाइनान्स कम्पनी रहेका छन्।

सदस्यता नविकरण नगराउनेमा ज्योति, देव, भागर्व, गण्डकी, पूर्णीमा, मिशन, तिनाउ, नेपाल कम्युनिटि, कन्काई र सप्तकोशी डेभलपमेन्ट रहेका छन् । त्यस्तै पोखरा, गराँस, रिलायन्स र सिर्जना फाइनान्सले पनि सदस्यता नविकरण नगराएको बोर्डले जनाएको छ ।

तीमध्ये हाम्रो विकास बैंक ज्योति विकास बैंकमा तथा जेविल्स फाइनान्स नेपाल इन्भेष्टमेन्ट बैंकमा विलय भईसकेको छ । अहिलेसम्म २८ वाणिज्य बैंक, १२ विकास बैंक र ७ वटा फाइनान्स कम्पनीले आश्वा सदस्यता नविकरण गराएका छन् ।