शेयर बजारमा पुन: कागजी युग फर्किएको भन्दै लगानीकर्ता चिन्तित, लाभकर गणना डिजिटल गराउन माग

0
Shares

शेयर कारोबारको पूँजीगत लाभकर गणना विधी र प्रक्रिया सच्याउन माग राख्दै शेयर लगानीकर्ताहरुले नियामकीय निकायहरुमा धर्ना दिन थालेका छन् । लगानीकर्ताहरुका विभिन्न संस्थाले सीडीएससी, धितोपत्र बोर्ड तथा अर्थमन्त्रालयको ध्यानकर्षण गराएका छन् ।

शुक्रबार नेपाल इन्भेस्टर्स फोरम र शेयर लगानीकर्ता संघ नेपाल धितोपत्र बोर्डमा डेलिगेसन गएको छ । यता पूँजीबजार लगानीकर्ता संघ र शेयर लगानीकर्ता दबाव समूहले विज्ञप्ति जारी गर्दै सरोकारवाला निकायको ध्यानकर्षण गराएका छन् ।

लगानीकर्ताहरुले भारित औसत विधिबाट स्वयं लाभकर घोषणा गर्ने विधि र प्रक्रिया अव्यवहारिक भएको भन्दै यसलाई प्रविधिमैत्री बनाउनुपर्ने माग राखेका छन् । राज्यले कट अफ डेट नतोकिदिँदा ब्रोकर अफिसमा स्वयं उपस्थित भई पूँजीगत लाभकर घोषणा गर्नुपर्ने बाध्यताकारी अवस्था सिर्जना भएको लगानीकर्ताको गुनासो छ ।

उनीहरुले भारित औसत लागत निर्धारण गर्ने परिपाटीले पूँजीबजारलाई पुनः कागजी प्रक्रियामा धकेलिदिएको भन्दै पूँजीगत लाभकरको निर्धारण सीडीएससीबाट नै गराउने व्यवस्था गर्नुपर्ने माग राखेका छन् ।

पूँजीबजारमा लगानी गर्ने लगानीकर्ताको सम्पूर्ण कारोबारको विवरण, लागतसमेत सीडीएससी र ब्रोकरको सिस्टममै रहेको र सोअनुसार नै भारित औसत दरमा पूँजीगत लाभकर प्रविष्ट गर्ने गरी गत वर्ष सर्वपक्षीय सहमति भएकाले सोही अनुरुप गर्नुपर्ने माग उनीहरुको छ । लगानीकर्ताले ‘सिडिएससी कै सिस्टममा ‘मेरो सेयर’ मार्फत जसरी प्राथमिक शेयर भर्ने र ईडिआईएस प्रेशित गर्न मिल्ने सिस्टम अपग्रेड गरिएको छ, त्यसरी नै ‘भारित औषत’ लागत पनि छुट्याउने ब्यवस्था गर्न आग्रह गरेका छन् ।

गत आर्थिक वर्षमा पूँजीगत लाभकरको गणना विधि सम्बन्धमा द्विविधा भएकोले नेपाल सरकार, धितोपत्र बोर्ड, नेप्से, सीडीएससी र नेपाल इन्भेष्टर्स फोरमका प्रतिनिधि र ब्रोकर एशोसिएसनका प्रतिनिधिसमेतको उपस्थितिमा भारित औसत दरको आधारमा पूँजीगत लाभकर लगाउने आपसी सहमति भएको थियो ।