सबैको लघुवित्तको आईपीओमा साढे ११ गुणा बढी आवेदन

0
Shares

सबैको लघुवित्त वित्तीय संस्थाले बिक्रीमा ल्याएको आईपीओमा चार दिनमा साढे ११ गुणा बढी शेयरको माग भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार अन्तिम दिन आइतबार साँझ ५ बजेसम्ममा सो आवेदन परेको हो।

क्यापिटलका अनुसार सर्वसाधारणको लागि बिक्री खुल्ला गरिएको ४ लाख ९५ हजार २५० कित्ता शेयरका लागि ५६ करोड ८९ लाख ८३ हजार रुपैयाँ बराबरको ५६ लाख ८९ हजार ८३० कित्ता शेयर माग भएको हो। आईपीओमा ३ लाख ३ हजार २०८ वटा आवेदन परेको छ ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार हरेक आवेदनकलाई १० कित्ताका दरले शेयर वितरण गर्दा जम्मा ४९ हजार ५२५ जनाले मात्रै गोलाप्रथाबाट १० कित्ताका दरले आईपीओ पाउनेछन्।

लघुवित्तले साउन १ देखि ५ गतेसम्म सर्वसाधारणबाट ४ लाख ९५ हजार २५० कित्ता शेयरका लागि आवेदन माग गरेको थियो। निष्काशित कूल ५ लाख ३० हजार कित्तामध्ये ८ हजार २५० कित्ता शेयर लघुुवित्तका कर्मचारीहरु तथा २६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।

आईपीओ बिक्रीपछि कम्पनीको चुक्ता पूँजी १६ करोड ५० लाख रुपैयाँ पुग्नेछ । जसमध्ये संस्थापकतर्फको ७० प्रतिशत बराबरको ११ करोड २० लाख रुपैयाँ पूँजी भैसकेको छ।