प्रभु बैंकको खुद नाफा ११२ प्रतिशतले बढ्यो, निक्षेप एक खर्ब १२ अर्ब पुग्यो

0
Shares

प्रभु बैंकले अधिकांश सूचकहरुमा उत्साहप्रद प्रगति सहितको गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको नाफा उच्चदरले बढ्दा प्रतिशेयर आम्दानी दोब्बर पुगेको छ भने लाभांश क्षमतामा बढोत्तरी आएको छ ।

बैंकले गत आर्थिक वर्षमा २ अर्ब ५ करोड खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्ष बैंकले ९६ करोड मात्र खुद नाफा गरेको छ । बैंकको नाफा ११२ प्रतिशतले बढेको हो । बैंकको नाफा उच्च दरले बढ्दा प्रतिशेयर आम्दानी पनि ९६ प्रतिशतले बढेर ११ रुपैयाँ ७४ पैसाबाट २३ रुपैयाँ ६ पैसा कायम भएको छ ।

बैंकको वितरण योग्य नाफा एक अर्ब ७३ करोड छ । यस आधारमा बैंकले १९ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने क्षमता देखिन्छ । राष्ट्र बैंकले तोकेको अनुरुपको व्यवस्था पश्चात कायम हुने फ्रि प्रोफिट बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ।

बैंकको चुक्ता पूँजी आठ प्रतिशतले बढेर आठ अर्ब ८९ करोड पुगेको छ । विभिन्न कोषमा ५ अर्ब ६७ करोड रुपैयाँ जगेडा राखेको छ ।

बैंकको निक्षेपमा साढे १५ तथा कर्जा विस्तारमा १८ प्रतिशतको सुधार छ । यसअवधिमा बैंकले एक खर्ब १२ अर्ब निक्षेप संकलन गरेर ८६ अर्ब कर्जा परिचालन गरेको छ । जसबाट ४ अर्ब ५६ करोड खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको भन्दा ६२ प्रतिशत भन्दा धेरै हो । संचालन मुनाफामा पनि ६४ प्रतिशत बढीले सुधार आएको छ ।

अघिल्लो वर्षको तुलनामा बैंकको आधार ब्याजदर र कोषको लागत तथा खराब कर्जा घटेको छ । १०.६२ प्रतिशत रहेको बैंकको आधार ब्याजदर ९.३६ प्रतिशतमा झरेको छ भने कोषको लागत ६.४१ बाट ६.१६ प्रतिशतमा झरेको छ ।

समीक्षा अवधिमा बैंकले आफ्नो खराब कर्जा अनुपात पनि सुधार छ । अघिल्लो आर्थिक वर्षको ३.९८ प्रतिशत खराब कर्जा अनुपात रहेकोमा यस वर्षमा २.३१ प्रतिशतमा झारेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ ८० पैसा, र मूल्य आम्दानी अनुपात ११.५३ गुणा छ।