एक वर्षमा वाणिज्य बैंकहरुमा ४०८ अर्ब निक्षेप थपियो, कर्जा ३८७ अर्बले वृद्धि

0
Shares

एक वर्षको अवधिमा वाणिज्य बैंकहरुमा चार खर्ब ८ अर्ब निक्षेप थपिएको छ भने यसअवधिमा बैंकहरुको कर्जा परिचालन ३८७ अर्बले बढेको छ । एकवर्षको अवधिमा बैंकहरुले कर्जा परिचालन भन्दा २१ अर्ब बढी रकम निक्षेप संकलन गरेका छन् ।

नेपाल बैंकर्स संघका अनुसार गत असार मसान्त सम्ममा वाणिज्य बैकहरुले २८ खर्ब ७८ अर्ब निक्षेप संकलन गरेर २४ खर्ब ९८ अर्ब कर्जा परिचालन गरेका छन् । अघिल्लो वर्षको असार मसान्त सम्ममा बैंकहरुले २४ खर्ब ७० अर्ब निक्षेप उठाएर २१ खर्ब ११ अर्ब कर्जा परिचालन गरेका थिए ।

वर्षभरीजसो कर्जा निक्षेपको असन्तुलन खेप्दै आएका बैंकहरुमा गत असार महिनामा ठूलो रकम निक्षेप जम्मा भएपछि कर्जा निक्षेप अनुपात सन्तुलनमा आएको छ । गत असारमा मात्रै बैंकहरुले एक खर्ब १९ अर्ब निक्षेप संकलन गरेका थिए । जबकी असार महिना बैंकहरुले ३० अर्ब रुपैयाँ कर्जा परिचालन गरेका थिए ।

साउन लागेपछि भने बैकहरुको निक्षेप तथा कर्जा विस्तार दुवै घटेको छ । साउनको पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप १३ अर्बले घटेको छ भने कर्जा पनि सोही अनुपातमा घटेको छ । साउन ४ गतेसम्म बैंकहरुमा २८ खर्ब ६५ अर्ब निक्षेप छ भने यस अवधिसम्म बैंकहरुले २४ खर्ब ८५ अर्ब कर्जा परिचालन गरेका छन् ।

वर्षभरी नै लगानी योग्य रकम खेपेका बैंकहरुमा पछिल्लो दुई महिनामा भने उल्लेखीय मात्रमा निक्षेप थपिएको छ । जेठमा बैंकहरुले ५१ अर्ब निक्षेप उठाएर २१ अर्ब कर्जा पचिालन गरेका थिए ।

गएको असोज महिनामा बैंकहरुले सबैभन्दा धेरै कर्जा प्रवाह गरेका थिए । गत असोजमा बैंकहरुले ७२ अर्ब कर्जा परिचालन गर्दा २१ अर्ब मात्र निक्षेप उठाएका थिए । सबैभन्दा कम अघिल्लो साउनमा ४ अर्ब कर्जा परिचालन गरेका बैंकहरुमा सो महिना १५ अर्बले निक्षेप घटेको थियो । गत फागुनमा सबैभन्दा कम चार अर्ब निक्षेप उठाएका थिए ।