सबैको लघुबित्तको आईपीओ शुक्रबार बाँडफाँड हुने

0
Shares

सबैको लघुबित्त वित्तीय संस्थाको आईपीओ शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनआइबिएलएस क्यापिटलले शुक्रवार बिहान १० बजे शेयर बाँडफाँड गर्ने जानकारी दिएको छ ।

तिनाउ विकास बैंकले आस्वा सदस्य नवीकरण नगरेका कारण सो बैंक मार्फत परेका आवेदनलाई मान्यता दिने वा नदिने भन्ने अन्योलले बाँडफाँडमा ढिलाई भएको थियो । सो बैंकले आस्वा सदस्य नवीकरण गरेपछि उसले लिएको आवेदनलाई मान्यता दिएर शेयर बाँडफाँड गर्न लागिएको क्यापिटलले जनाएको छ ।

संस्थाले साउन एक गतेदेखि सर्वसाधारणको लागि ४ लाख ९५ हजार २५० कित्ता शेयर खुला गरेको थियो । क्यापिटलका अनुसार सर्वसाधारणको लागि बिक्री खुल्ला गरिएको शेयरका लागि ५६ करोड ८९ लाख ८३ हजार रुपैयाँ बराबरको ५६ लाख ८९ हजार ८३० कित्ता शेयर माग भएको हो।

आईपीओमा ३ लाख ३ हजार २०८ वटा आवेदन परेकोमा तीन लाख एक हजार सात सय ३८ जनाको आवेदन स्वीकृत भएको छ। जुन निष्कासनको ११ गुणा बढी हो ।

निष्काशित कूल ५ लाख ३० हजार कित्तामध्ये ८ हजार २५० कित्ता शेयर लघुुवित्तका कर्मचारीहरु तथा २६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्दे्शिका अनुसार हरेक आवेदनकलाई १० कित्ताका दरले शेयर वितरण गर्दा जम्मा ४९ हजार ५२५ जनाले मात्रै गोलाप्रथाबाट १० कित्ताका दरले आईपीओ पाउनेछन्।

तनहुँको बन्दीपुरमा केन्द्रीय कार्यालय रहेको संस्थाले कारोबारको तेस्रो वर्षमा प्रवेश गरेको छ भने ३१ वटा शाखाहरूबाट कारोबार गरिरहेको जनाएको छ। आईपीओ बिक्रीपछि कम्पनीको चुक्ता पूँजी १६ करोड ५० लाख रुपैयाँ पुग्नेछ । जसमध्ये संस्थापकतर्फको ७० प्रतिशत बराबरको ११ करोड २० लाख रुपैयाँ पूँजी भैसकेको छ।