‘एनआइसी एशिया ब्यालेन्स फण्ड’ मा आवेदन गर्ने म्याद भदौ ५ गतेसम्म थपियो, छोटो अवधिमा सबै बिकेन

0
Shares

एनआइसी एशिया क्यापिटलको व्यवस्थापनमा संचालनमा आउन लागेको १ अर्ब २५ करोड रुपैयाँ बराबरको ‘एनआइसी एशिया ब्यालेन्स फण्ड’को इकाईमा आवेदन गर्ने समय थप भएको छ ।

एनआइसी एशिया ब्यालेन्स फण्डले साउन ८ गतेदेखि प्रति इकाई १० रुपैयाँका दरले १२ करोड ५० लाख इकाई बिक्रीमा ल्याएको थियो । साउन १२ गतेसम्मको छोटो अवधिभित्र फण्डका सबै इकाई बिक्री नभएपछि लामो अवधि अर्थात भदौ ५ गतेसम्म आवेदन दिन पाउने गरेको छ ।

कुल निष्काशित इकाइमध्ये कोष प्रवद्र्धनमा एनआईसी एसिया बैंकका लागि १४ प्रतिशत अर्थात १ करोड ७५ लाख इकाइ तथा योजना व्यवस्था एनआईसी एसिया क्यापिटल लिमिटेडलाई एक प्रतिशत अर्थात् १२ लाख ५० हजार इकाई सुरक्षित गरिएको छ । बाँकी १० करोड ६२ लाख ५० हजार इकाई सर्वसाधारणका लागि निष्कासन खुला गरिएको हो ।

न्यूनतम १०० इकाइ र अधिकतम १ करोड ७५ लाख इकाइका लागि आवेदन दिन पाइनेछ । लगानीकर्ताले इकाइमा धितोपत्र बोर्डबाट आश्वा लिएको सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको अलवा मेरो शेयरबाट समेत आवेदन दिन सक्नेछन्।

फण्डको निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । यो एनआइसी एशिया क्यापिटलको दोस्रो म्युचुअल फण्ड हो । यो बन्दमुखी म्युचुअल फन्डको अवधि दश वर्ष रहेको छ ।

फण्डले पहिलो वर्ष बैंकको फिक्स्ड डिपोजिटमा कोषको आकारको १० प्रतिशत, ऋणपत्रहरुमा १० प्रतिशत, दोस्रो बजारमा ५५ प्रतिशत र कल अकाउण्टमा २५ प्रतिशत लगानी गर्ने योजना अघि सारेको छ ।

पहिलो वर्ष यो कोषको नेट एसेट भ्यालू(न्याभ) १० रुपैयाँ ६३ पैसा हुने र १० औं वर्ष १३.५७ रुपैयाँ हुने प्रक्षेपण गरिएको छ । यो फण्डले पहिलो वर्ष नै लगानीकर्तालाई कम्तीमा ९ प्रतिशत प्रतिफल दिन सकिने प्रक्षेपण गरेको छ ।

योजनाबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा क्यापिटलले फण्ड परिपक्क हुने १० वर्ष अवधिमा लगानीकर्तालाई १८६.७१ प्रतिशतसम्म लाभांश वितरण गर्ने योजना रहेको बताएको छ । इकाई बाँडफाँड पश्चात शेयर बजारमा सूचीकृत भएपछि अन्य शेयर सरह नै दोस्रो बजारबाट खरिद तथा बिक्री गर्न सकिनेछ । एनआईसी एशिया क्यापिटलको पहिलो योजना एनआईसी एशिया ग्रोथ फण्ड हाल दोस्रो बजारमा सञ्चालनमा छ