नेपालको व्यापार घाटा १३ खर्ब २१ अर्ब, एक वर्षमा बढ्यो एक खर्ब ५७ अर्ब

0
Shares

गत आर्थिक वर्ष २०७५/७६ मा नेपालको व्यापार घाटा १३ खर्ब २१ अर्ब रुपैयाँ नाघेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष भरीमा नेपालको व्यापार घाटा १३.५५ प्रतिशतले बढेको हो । भन्सार विभागका अनुसार आव २०७४/७५ मा नेपालको कुल व्यापार घाटा ११ खर्ब ६३ अर्ब रुपैयाँ थियो ।

अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा नेपालको व्यापार घाटा डेढ खर्बले बढेको हो । आयातको तुलनामा निर्यातको अनुपात घट्दै गएपछि व्यापार घाटा चुलिँदै गएको हो । एक वर्षकै अवधिमा व्यापार घाटा एक खर्ब ५७ अर्ब ९१ करोड ले बढेको छ ।

विभागका अनुसार गत आबमा नेपालबाट कुल ९७ अर्ब १० करोड रुपैयाँ बराबरको बस्तुहरु निर्यात भएका छन । तर, सोही अबधिमा नेपालको आयात भने १४ खर्ब १८ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । यो नेपालले गरेको निर्यातको १४.६ गुणा बढी हो ।

नेपालले विदेशबाट ल्याएको बस्तु तथा सेवाको मूल्य र नेपालले देशभित्र उत्पादन गरेर विदेश पठाएको बस्तुको मूल्यको अन्तर व्यापार घाटा हो ।

नेपालको वैदेशिक व्यापारलाई सय रुपैयाँ मान्ने हो भने, नेपालले ९३.६ रुपैयाँको आयात गरेको छ भने ६.४ रुपैयाँको सामान मात्रै निर्यात गरेको छ ।

एक वर्षमा नेपालले आयत १३.९३ प्रतिशतले बढाएको छ भने १९.३६ प्रतिशतले निर्यात बढाएको छ । आर्थिक वर्ष २०७४/७५ मा भने नेपालले १२ खर्ब ४५ अर्बको सामान आयत गरेको थियो र ८१ अर्बको बस्तु निर्यात गरेको थियो ।