नयाँ लघुवित्तहरुको शेयरको माग बढ्दा जलविद्युत कम्पनीहरुमा लगानीकर्ताको विकर्षण

0
Shares

लगातार दुई दिन दोहोरो अंकले घटेको शेयर बजारमा उकालो लाग्ने संकेत देखिएपछि शेयरको माग बढ्न थालेको छ ।

गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशन हुन थालेपछि दोस्रो बजारमा लघुवित्त कम्पनीहरुको माग बढ्न थालेको छ । अधिकांस लघुवित्त कम्पनीहरुले उल्लेखीय रुपमा नाफा बढाएको विवरण सार्वजनिक गरेका छन् ।

त्यसमा पनि पछिल्लो वर्ष प्राथमिक शेयर जारी गरेर शेयर बजारमा सूचीकृत भएका लघुवित्त कम्पनीहरुको शेयरको माग उच्च देखिन्छ ।

आईपिओ जारी गरेपछि निष्कासन गरेका वित्तीय विवरणमा उल्लेखीय सुधार देखिदा लगानीकर्ताको माग बढेको हो । अर्कातर्फ यी कम्पनीहरुको बजारमा शेयर नै कम भएकाले पनि थोरै माग बढ्दा समेत मूल्य उच्च रुपमा बढ्ने गर्छ ।

सोमबारको बजारमा सबैभन्दा धेरै शेयरमूल्य बढ्ने कम्पनीको सूचीमा लघुवित्त कम्पनीहरुले अग्रता लिएका छन् । नेपाल एग्रोको शेयर मूल्य बढेर सक्रिट लागेको छ । त्यस्तै स्वावलम्बन, स्पर्श, इन्फिनिटी, गुराँस, आशा, लक्ष्मी, समता तथा सामादुयिक लघुवित्त शेयर मूल्य उच्च बढ्ने दश कम्पनीमा अटाएका छन् । यी अधिकांस कम्पनीहरुले गत वर्ष आईपिओ जारी गरेका थिए भने अधिकांसले गतवर्षको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।

अर्कातर्फ त्यसको विपरित पछिल्लो वर्षहरुमा आईपिओ निष्कासन गरेर सूचिकृत भएका जलविद्युत कम्पनीहरुको शेयरमा भने लगानीकर्ताको विकर्षण देखिएको छ । आईपिओको भन्दा निक्कै कम मूल्यमा समेत लगानीकर्ताहरु शेयर बेच्न थालेका छन् केहि कम्पनीहरुको शेयर मूल्य आईपीओ भन्दा २५ रुपैयाँसम्म तल झरेको छ ।

जोशी हाइडोको शेयर मूल्य ७५ रुपैयाँमा झरेकोे छ । युनिभर्सल पावर र सिनर्जी पावरको ८८ रुपैयाँमा किनबेच भयो । युनाईटेड मोदी र अरुण काबेलीको पनि शेयर मूल्य उच्च दरले घटेको छ । शेयर मूल्य बढी घट्नेको सूचीमा जलविद्युत कम्पनीहरुको अग्रता देखिएको छ।

लगातार दुई दिनसम्म दोहोरो अंकले घटेको बजार सोमबार ३.१८ अंकले सुधार भएको छ। बजार सुधार हुने संकेत देखापर्दा लगानीकर्ताले शेयर होल्ड गर्न खोज्दा कारोबार रकम ३५ करोड ८ लाख रुपैयाँमा सिमित भएको छ। यसदिन १६२ कम्पनीको कारोबार हुँदा ८० कम्पनीको शेयर मूल्य बढेको छ भने ४२ वटाको घटेको छ।

सूचीकृत कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्ने क्रम बढेको छ। कम्पनीको वित्तीय विवरण हेरेर कम्पनीले दिन सक्ने लाभांशको अनुमान गर्न सकिने हुँदा लगानीकर्ता शेयर खरिद गर्ने मौका कुरेर बसेका छन्। दुई दिनको अवधिमा २८ अंक भन्दा तल झरेपछि सस्तो मूल्यमा शेयर उठाउनेहरु सकिय हुन थालेका छन् ।

कुल ११ वटा समूहको शेयर कारोबार भएकामा ३ वटा बाहेक बाँकी सबै समूहका सूचकमा सुधार आएको छ । युनाइटेड इन्स्योरेन्सको सबैभन्दा धेरै २ करोड ३८ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो । २४० हकप्रद लागि यो कम्पनीको उच्च कारोबार भएको हो ।