नागबेली लघुवित्तको नाफा ४७ प्रतिशतले बढ्दा समेत प्रतिशेयर आम्दानीमा गिरावट

0
Shares

नागबेली लघुवित्त वित्तीय संस्थाले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा खुद नाफा ४७.१८ प्रतिशतले बढाएको छ । तर पूँजी वृद्धिको अनुपातमा कम्पनीको नाफा बढ्न नसक्दा प्रतिशेयर आम्दानीमा भने गिरावट देखिएको छ ।

गत आर्थिक वर्षमा लघुवित्तले ३ करोड ५५ लाख खुद नाफा गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा लघुवित्तले २ करोड ४१ लाख खुद नाफा कमाएको थियो । नाफा बढेपनि नागबेलीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ५ पैसाले घटेर २१ रुपैयाँ १९ पैसामा झरेको छ ।

चुक्ता पुँजी ८४ प्रतिशतले बढाएर १६ करोड ७६ लाख रुपैयाँ पुर्याएको संस्थाको जगेडाकोषमा १२ करोड ७ लाख जम्मा भएकोे छ । संस्थाको जगेडा कोष अघिल्लो वर्षको तुलनामा १४८ प्रतिशतले बढेको हो ।

यस अवधिमा संस्थाले ४१ करोड ४० लाख रुपैयाँ सापटी लिई ९३ करोड ६० लाख रुपैयाँ ऋण प्रवाह गरेको छ । संस्थाले खुद ब्याज आम्दानी ९ करोड १३ लाख रुपैयाँ आर्जन गरेकोे छ । संस्थाको सञ्चालन मुनाफा ११ करोड ७५ रुपैयाँ पुगेको छ ।

संस्थाको प्रतिशेयर आम्दानी २१.१९ रुपैयाँ , मूल्य आम्दानी अनुपात २७.७५ गुणा, प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ छ ।

नागबेली लघुवित्त, किसान माइक्रोफाइनान्स र मिर्मिरे लघुवित्त एक आपसमा गाभिने क्रममा रहेका छन् ।