शेयर कारोबारमा सुधार, बिक्रीको चाप पर्दा अधिकांस सूचक नकारात्मक

0
Shares

नेप्से सूचकमा उतारचढाब भईरहदा शेयर कारोबारमा भने क्रमश सुधार आउन थालेको छ । बिहीबारको बजारमा नेप्से सूचक सामान्य घटेपनि कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको छ ।

शेयर कारोबारमा देखिएको पूँजीगत लाभकरको अन्योलता र ब्रोकर अफिसमा पुगेर ल्याप्चे लगाउनुपर्ने अवस्थाको अन्त्य गर्ने सहमतिपछि लगानीकर्ता उत्साहित भएका थिए । त्यसको प्रभावले शेयर कारोबारमा सुधार आएपनि शेयर बजारमा बिक्रीकै चाप देखिएको छ । जसले गर्दा कारोबार बढेपनि सूचकमा सुधार हुन सकेन ।

बिहीबार नेप्से सूचक १.७४ अंकले घटेर १२६३.८४ विन्दुमा झरेको छ । १६८ कम्पनीको २० लाख ६० हजार ६७८ कित्ता शेयर किनबेच भएको बजारमा ५९ करोड बढीको कारोबार भयो । बिहीबार कारोबार रकम २३ करोड रुपैयाँले बढेको छ। 

कुल १२ वटा समूहको कारोबार हुँदा जीवन बिमा समूह सबैभन्दा धेरै २०.८७ अंकले बढेको छ । वाणिज्य बैंक समूहको सूचक ३.६८ अंकले घटेको छ । यसदिन चार समूहका सूचक सकारात्मक रहँदा बाँकी आठ समूह ओरालो लागेको छ । बीमा समूह, लघुवित्त र फाइनान्समा सुधार देखिएको छ ।

यसदिन सबैभन्दा धेरै नेको इन्स्योरेन्सको संस्थापक शेयरको कारोबार भयो । यसको ७ करोड ४७ लाख रुपैयाँभन्दा धेरैको किनबेच भयो ।

यस दिन सबैभन्दा बढी स्पर्श लघुवित्तको शेयरमूल्य दश प्रतिशतले बढेको छ । विहीबारको बजारमा पनि उच्चदरले शेयरमूल्य बढ्ने कम्पनीहरुमा लघुवित्त कम्पनीहरु नै अग्रपक्तिमा देखिएका छन् । सबैभन्दा धेरै युनाइटेड इन्स्योरेन्सको शेयरमूल्य साढे चार प्रतिशतले घटेको छ ।