त्रिशूली ३ बी हब सबस्टेसन निर्माण ६० प्रतिशत सकियो, समयभित्रै पुरा गर्न कुलमानको निर्देशन

0
Shares

त्रिशूली नदी बेसिनमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माणाधीन त्रिशूली ३ बी २२० केभी हब सबस्टेसन आयोजनाको निर्माण ६० प्रतिशत सम्पन्न भएको छ ।

ट्रान्सफर्मर रहने स्थानको जग हालिएको छ भने कन्ट्रोल बिल्डिङ बनाउन सुरु भएको छ । त्रिशूली नदी किनारमा सब स्टेशनको सुरक्षाका लागि पर्खाल लगाउने काम अन्तिम चरणमा छ । सबस्टेसनमा प्रयोग हुने उपकरणहरुको उत्पादन भइरहेको र डेढ महिनाभित्रमा आयोजनास्थलमा आपूर्ति सुरु हुने छ ।

नेपाल विद्युत प्राधिकरणका कायृकारी निर्देशक कुलमान घिसिङले नुवाकोटको किस्पाङ गाउँपालिका —५ पहिरेबेसीमा निर्माणाधीन सबस्टेसनको स्थलगत निरीक्षण गरी आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीलाई तोकिएकै समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन् ।
प्रसारण लाइन र सबस्टेसननको अभावमा जनताको जलविद्युत कार्यक्रमअन्तर्गत सर्बसाधारणसमेत लगानी रहेका आयोजनाको विद्युत खेर जाने सम्भावना देखिएपछि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनको निर्देशकमा घिसिङ निर्माणस्थलको निरीक्षणमा गएका हुन् ।

 घिसिङले निर्माणमा संलग्न आयोजना व्यवस्थापन, ठेकेदार र परामर्शदाता कम्पनीका प्रतिनिधिसँग छलफल गरेका थिए । निर्माण कार्यको नियमित अनुगमन गर्ने बताउँदै उनले जनशक्ति थप्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् ।

‘यो सबस्टेसन एक वर्षभित्रमा बनाउन सकिएन भने चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा निर्माणाधीन आयोजनाहरुको १६८ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न नसकी विद्युत खेर फाल्नु पर्ने अवस्था आउन सक्छ, यस्तो अवस्था आएमा प्राधिकरणले ती आयोजनालाई करौडौं रुपैयाँ पेनाल्टी तिर्नु पर्छ’, कार्यकारी निर्देशक घिसिङले निर्देशक दिंदै भने । ‘निर्माणका क्रममा आउनसक्ने सामाजिक, वित्तीय लगायतका समस्याको गाँठो फुकाइदिन्छौं, यस्तो संवेदनशील आयोजनाको काम निर्धारित समयमा सकिन्छ भनेर मात्रै हुँदैन, सबै पक्ष गम्भीर भई निर्माणलाई तिब्रता दिनुपर्छ ।’

सबस्टेसनको निर्माण आगामी पुसको दोस्रो साताभित्र (३१ डिसेम्बर २०१९) सक्ने लक्ष्य राखिएको छ ।

गत जेठमा केही स्थानीयबासीले नियतबस विभिन्न माग राखीसबस्टेसन निर्माणमा अबरोध गरेका थिए । नाजायज माग राखी अवरोध गरेपछि आक्रोसित भएका घिसिङले निर्माणस्थलमा जम्मा भएका स्थानीयलाई नाजायज माग राखी अबरोध गरेमा स्थानीय प्रशासनमार्फत पक्राउ गर्ने चेतावनी दिएका थिए ।

स्थानीयको जायज माग पूरा गर्न आयोजना संधै तयार रहेको उल्लेख गर्दै नियतबस काम रोक्नेलाई नछोड्ने चेतावनी दिएका थिए । यसको प्रभाव सकारात्मक परी सबस्टेसन मात्रै नभएर त्यस क्षेत्रमा निर्माण भइरहेको अन्य प्रसारण लाइन निर्माणमा स्थानीयले अबरोध नगरेको आयोजना प्रमुख थर्कबहादुर थापाले बताए ।

त्रिशूली नदी बेसिनमा निर्माणाधीन र निर्माण हुने करिब ६ सय मेगावाटको विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न सबस्टेसनको निर्माण गर्न लागिएको हो । आयोजनामा नेपाल सरकार तथा प्राधिकरणको लगानी एवं जर्मन विकास बैक, युरोपेली लगानी बैकको सहुलितपूर्ण ऋण रहने छ । आयोजनाको अनुमानित लागत एक करोड ६० लाख अमेरिकी डलर रहेको छ ।