नेपाली बजारमा सुनको मूल्य अहिले सम्मकै उच्च, एकैदिन प्रतितोला १५ सय बढ्यो

0
Shares

नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउन थालेको छ । सोमबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ सय रुपैयाँले बढेर हालसम्मकै उच्च भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ६७ हजार ८०० रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनाएको हो । अघिल्लो दिनको तुलनामा सुनको मूल्य १५ सय रुपैयाँले बढेको हो ।

यस्तै तेजाबी सुन पनि प्रतितोला ६६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबारको तुलनामा तेजाबी सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो ।

आइतबार छापावाला सुन प्रतितोला ६६ हजार ३०० रुपैयाँ तथा तेजाबी सुन ६६ हजार रुपैयाामा खरिद बिक्री भएको थियो । सोमबार चाँदीको मुल्य समेत प्रतितोला २० रुपैयाँले बढेर प्रतितोला ७९५ रुपैयाँमा कारोबार भइरहेकोे छ ।

 

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा त्यसको असर नेपाली बजारमा महासंघले जनाएको छ । लगानीकर्ताहरूले जोखीमयुक्त सम्पत्तीलाई छाडेर सुनलगायत सुरक्षित ठानिने सम्पत्तीमा लगानी गर्न थालेपछी मूल्य बढेको व्यवसायीको भनाई छ ।

त्यस्तै अन्तराष्ट्रिय समाचार माध्यमका अनुसार अमेरिकाले आयातित धातुमा लगाएको अतिरिक्त शुल्कका कारण सुनको मूल्य बढेको हो । त्यस्तै कमजोर अमेरिकी आर्थिक वृद्धिदर, ऋणपत्रको न्यून प्रतिफल र कमजोर डलरले पनि सुनको कारोबारलाई प्रभावित पारेको विज्ञहरुको भनाई छ ।

नेपालमा सुनचाँदीमा लगानी गर्न चाहेर पनि निर्धक्कसँग लगानी गर्ने वातावरण नभएको व्यवसायीहरुको गुनासो छ । तस्करी, सम्पत्ती शुद्धिकरणलगायतले गर्दा पनि व्यवसायी डराएका हुन् ।