कृषि विकास बैंकको खुद नाफा ४ अर्ब ३५ करोड, बाँड्न मिल्ने ३ अर्ब ३१ करोड

0
Shares

कृषि विकास बैंकले गत आर्थिक वर्षको अन्तिम त्रैमासमा चार अर्ब ३५ करोड ३२ लाख खुद नाफा आर्जन गरेको छ।

बैंकको नाफा अघिल्लो आर्थिक बर्षको तुलनामा १९.१५ प्रतिशतले बढेको हो।अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले ३ अर्ब ६५ करोड खुद नाफा कमाएको थियो।

बैंकको वितरण योग्य नाफा ३ अर्ब ३१ करोड १३ लाख रहेको छ । यस आधारमा बैंकले २३ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको देखिन्छ ।

सरकारको अग्राधिकार शेयर सहित बैंकको चुक्ता पूँजी १४ अर्ब ४४ करोड ८२ लाख रहेको छ । बैंकमा ९ अर्ब एक करोड ५५ लाख २९ हजार साधारण र ५ अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँ सरकारको अग्राधिकार शेयर रहेको छ । बैंकको जगेडा कोषमा १० अर्ब ४० करोड रुपैयाँ सञ्चित रहेको छ । बैंकको रिटेर्न अर्निङ्ग ३ अर्ब ६९ करोड छ ।

समीक्षा अवधिमा बैंकले एक खर्ब १९ अर्ब ७६ करोड निक्षेप संकलन गरेर एक खर्ब १० अर्ब ७९ करोड कर्जा लगानी गरेको छ । बैंकको निक्षेपमा करिब १५ तथा कर्जामा ११.१९ प्रतिशतको सुधार आएको छ । जसबाट बैंकले ७ अबए ३७ करोड खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको भन्दा करिब आठ प्रतिशत बढी हो ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात केही घटेपनि अन्य वाणिज्य बैंकहरुको तुलनामा उच्च रहेको छ । बैंकको खराब कर्जा अनुपात २.९० प्रतिशत छ। बैंकको आधार ब्याजदर १०.५८ प्रतिशत र कोषको लागत ७.१४ प्रतिशत रहेको छ। कोषको लागत र आधार ब्याजदर दुवै घटेको छ ।

यस अवधिमा कृषि विकास बैंकको प्रतिशेयर आम्दानी ४४ रुपैयाँ ६७ पैसा कायम भएको छ । गत आवको यसै अवधिमा बैंकको इपिएस ३७ रुपैयाँ १८ पैसा थियो। बैंकको प्रतिशेयर नेटवर्थ ३१४ रुपैयाँ १८ पैसा र मूल्य आम्दानी अनुपात १०.८२ गुणा छ ।