आयात प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धन नीति ल्याउनुपर्नेमा सांसदहरुको जोड

0
Shares

सांसदहरुले एकै पटकमा नसके पनि विस्तारै आयात कम गर्दै गएर भविष्यमा विस्थापित गरी निर्यात प्रवद्र्धन गर्ने नीति ल्याउनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबार बसेको बैठकमा ‘औद्योगिक व्यवसायसम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा सहभागी सांसदहरुले क्रमशः आयात प्रतिस्थापन गर्ने विषयलाई प्रस्तावनामा नै उल्लेख गरिनुपर्ने बताए ।

बैठकमा सहभागी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विधेयकमा आवश्यक संशोधन गरेर अघि बढ्नुपर्ने बताए। 

उनले मन्त्रिपरिषद्बाट आउँदासमेत विधेयकमा कुनै कुरा अझै थप्नुपर्ने वा सच्चाउनुपर्ने देखिएमा समितिमा त्यसबारे छलफल गरिनुपर्ने बताए। मन्त्री यादवले भने, “छलफलका क्रममा कुनै कुरा थपघट गर्नु परे आवश्यक छलफल गरेरै अघि बढ्न सकिन्छ ।”

उद्योग सचिव यामकुमारी खतिवडाले आयात एकै पटक प्रतिस्थापन गर्न नसकिने बताइन्। उनले भनिन्, “एकै पटकमा प्रतिस्थापन नहुने हुँदा व्यवस्थापन गर्दै प्रतिस्थापन गर्ने कुरा विधेयकमा राख्दा उपर्युक्त हुन्छ ।”

समितिका सदस्य विन्दा पाण्डेले विधेयकको अनुसूचीमा रहेका कतिपय विषयमा विषय शिक्षा तथा स्वास्थ्य समितिसँग समन्वय गरेर अघि बढ्नुपर्ने उल्लेख गरिन्। अर्का सदस्य कृष्णकुमार श्रेष्ठले विधेयकको प्रस्तावनामा आयात व्यवस्थापनभन्दा आयात प्रतिस्थापन शब्द नै राखिनुपर्नेमा जोड दिए।

देशमा उत्पादितभन्दा धेरै वस्तु आयात गर्नुपर्दा गत वर्षको बजेटभन्दा बाहिरबाट आयात हुने वस्तुको परिमाण धेरै हुँदा देशको भुक्तानी सन्तुलन र समग्र अर्थव्यवस्थामा समेत असर पर्दै गइरहेको छ ।