सुनको मूल्य ऐतिहासिक उचाईमा, यस्ता छन् मूल्य बढ्नुका चार कारण

0
Shares

नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ नयाँ रेकर्ड बनाउने क्रममा बुधबार हालसम्मकै ऐतिहासिक उचाईमा पुगेको छ ।

अघिल्लो दिनको तुलनामा सुनको मूल्य बुधबार प्रतितोला १५ सय रुपैयाँले बढेर हालसम्मकै उच्च भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ६९ हजार ५०० रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनाएको हो । अघिल्लो दिनको तुलनामा सुनको मूल्य १५ सय रुपैयाँले बढेको हो ।

यस्तै तेजाबी सुन पनि प्रतितोला ६९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार छापावाल सुन प्रतितोला ६८ हजार तथा तेजाबी सुन प्रतितोला ६७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदीको मुल्य समेत प्रतितोला १५ रुपैयाँले बढेर प्रतितोला ८१० रुपैयाँमा कारोबार भइरहेकोे छ ।

अन्तर्राष्ट्रिय अर्थतन्त्रमा देखिएको अस्थिरता, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अर्थनीति, कश्मीर तनाव र स्थानीय माग कम भएका कारण नेपालमा सुनको भाउ लगातार बढिरहेको छ। व्यवसायी र अर्थशास्त्रीहरूका अनुसार हाल अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढिरहेकाले त्यसको असर नेपालमा पनि देखिएको हो।

गएको एक महिनामा तोलामा साढे तीन हजार रुपैयाँले बढेर नेपाली बजारमा मङ्गलवार छापावाल सुनको मूल्य प्रतितोला ६८ हजार रुपैयाँ पुगेको छ। चीन र अमेरिकाबीचको व्यापार युद्धले अन्तर्राष्ट्रिय बजार अस्थिर बन्दा धेरै लगानीकर्ता सुनतर्फ आकर्षित भएको हुँदा मूल्य बढेको व्यवसायी र अर्थशास्त्रीको तर्क छ।

१. अन्तर्राष्ट्रिय तनाव

नेपाल सुनचाँदी व्यवसायी महसङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्य भन्छन्: “अमेरिका-चीन व्यापार युद्धकै कारण अहिले सेयर र डलरका लगानीकर्ता सुनतर्फ आकर्षित भएको देखिन्छ।”

“त्यसमा इरानसँग अमेरिका र ब्रिटेनको तनाव, एवम् कोरिया क्षेत्रमा देखिएको तनावले पनि थप असर पारेको देखिन्छ।”

महासङ्घका अनुसार सोमवार नेपालमा सुनको मूल्य तोक्दा अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔँस एक हजार चार सय ५३ डलर रहेकोमा मङ्गलवार बढेर एक हजार चार सय ५९ डलर पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा आइतवारको तुलनामा मङ्गलवारसम्ममा एक औँस सुनको मूल्य १८ डलर बढिसकेको छ।

महासङ्घले हरेक दिन सवा १० बजे सुनको भाउ तोक्ने गरेको छ। नेपालमा भारतीय सुन बजार खुलेपछि भाउ तोक्ने चलन रहेको महासङ्घले जनाएको छ।

२. ट्रम्पको अर्थनीति

अर्थशास्त्रीका अनुसार चीन र अमेरिकाको व्यापार युद्धसँगै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाको अर्थतन्त्रका लागि लिएको नीतिले पनि सुनको भाउ बढाउन भूमिका खेलेको देखिन्छ।

अर्थशास्त्री चन्द्रमणि अधिकारी भन्छन्, “अमेरिकाले आफ्नो अर्थतन्त्र तताउने नीति लिएको छ। त्यसैका लागि लामो समयपछि त्यहाँको केन्द्रीय ब्याङ्कले ब्याजदर पनि घटाएको छ। त्यसको असर सुनमा देखिएको हो।”

उनका अनुसार अमेरिकी केन्द्रीय ब्याङ्कको नीतिहरूलाई युरोपेली सङ्घले पनि नजिकबाट हेर्ने र त्यसैका आधारमा नीतिहरू बनाउने गर्छ।

अमेरिकाले लिएको नीतिका कारण इन्धनको भाउ र सेयर बजारमा अस्थिरता बढेको अधिकारीको तर्क छ।

“त्यो अस्थिरताबाट बच्न लगानीकर्ताले सुरक्षित क्षेत्रका रूपमा सुनलाई रोजेको देखिन्छ,” उनले भने।

३. कश्मीर तनाव

शाक्यका अनुसार डलरको भाउ बढ्ने र भारतीय रुपैयाँ कमजोर हुने गर्दा समेत नेपालमा भने सुनको भाउ बढ्ने गरेको बताउँछन्।

भारतले कश्मीरलाई विशेषाधिकार प्रदान गर्ने संविधानको एउटा धारा हटाउने निर्णय गरेपछि त्यसका कारण त्यहाँको सेयर बजारमा नकारात्मक असर परेको र भारतीय रुपैयाँ कमजोर बनेको शाक्यले बताए।

उनले थपे: “त्यसको असर पनि सुनको मूल्यमा देखिएको छ।”

४. स्थानीय क्रेताको अरुचि

शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनतर्फ लगानीकर्ता आकर्षित भए पनि नेपालमा चाहिँ भाउ बढेकाले सुन किन्नेहरू घटेका छन्।

उनले भने: “अहिले सुन किन्न आउनेहरू खासै छैन। बिक्री गर्न चाहनेहरू भने धेरै छन्।”

सामान्य अवस्थामा नेपालमा दैनिक २५ देखि ३० किलोसम्म सुनको बिक्री हुने गरेकामा अहिले भने दैनिक १० किलोको हाराहारीमा मात्र बिक्री भइरहेको छ।

नेपालमा अत्यधिक मात्रामा सुनको आयात भएर विदेशी मुद्रा सञ्चितीमा नकारात्मक असर परेको भन्दै सरकारले सुन व्यवसायी र व्यक्तिहरूले सिधै आयात गर्न रोक लगाएको छ।

विसं २०६६ देखि ब्याङ्कहरूमार्फत् मात्र व्यवसायीहरूले सुन किन्दै आएका छन्। हाल ब्याङ्कहरूले दैनिक २० किलोका दरले व्यवसायीलाई सुन बिक्री गर्ने गर्छन्।

‘अवैध कारोबार बढ्नसक्छ’

अर्थशास्त्री अधिकारीका अनुसार सुनको भाउ उकालो लाग्दा नेपालमा अवैध सुन कारोबार बढ्नसक्छ।

नेपालमा सुनको भाउ बढेका र बजारमा अभाव भएका बेला अवैध कारोबार बढेका उदाहरणहरू रहेको उनको तर्क छ।

अधिकारी भन्छन्: “केही दिन अघि मात्र विमानस्थलमा सुन पक्रिएको खबर आएको थियो। भाउ बढेपछि भन्सार छलेर ल्याउने क्रम बढ्नसक्छ।”

उनले नेपालमा सुनको खरिदबिक्रीमा अपारदर्शिता बढ्ने सम्भावना पनि रहेको बताउँछन्।

भाउ बढेपछि आवश्यकताले बिक्री गर्न चाहनेहरूले पनि सहजै अवसर नपाउने गरेको उनले बताए।

व्यवसायीहरू भने बिक्री गर्न चाहनेको सुन सहजै बिक्री भइरहेको दाबी गर्छन्।