जापान–अमेरिकाबीच व्यापार सम्झौताको तयारी, दुवै मुलुकको पक्षमा हुनुपर्नेमा जोड

0
Shares

अमेरिकासँग हुने व्यापार सम्झौता दुबै मुलुकको फाइदाका लागि हुनुपर्ने जापानका प्रधानमन्त्री सिन्जो आवेले शुक्रबार बताएका छन्।

प्रधानमन्त्री आवेले भने, “हामी अन्तिम सहमतिमा जाने वा नजाने भन्ने कुरा भविष्यमा हुने वार्ता र छलफलमा भरपर्नेछ । त्यसैले मैले सम्झौता कहिले हुन्छ अहिल्यै भन्न सम्भव हुँदैन । तर व्यापार सम्झौता दुबै मुलुकको हितमा हुनुपर्छ ।”

आवेले जापानको नागासाकीमा एक पत्रकार सम्मेलनमा भने, “हाम्रो अडानमा कुनै परिवर्तन आएको छैन । हामीले दुवैपक्षको जीत हुने नतिजा छिट्टै देख्न चाहन्छौँ ।”

यस महिनाको अन्त्यमा दुबै पक्षले व्यापार सम्झौताका मन्त्रीस्तरीय वार्ताको वातावरण बनाउन आगामी हप्ता एक कार्यदल बनाई वासिङ्टनमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

आगामी केही हप्ताभित्र हुने मन्त्रीस्तरीय वार्तामा जापानको तर्फबाट अर्थमन्त्री तोशी मिट्सु मोटेगी र अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटहाइजर सहभागी हुनुहुनेछ ।

अमेरिकाले जापानसँगको व्यापार घाटाप्रति चासो व्यक्त गर्दै अब गरिने व्यापार सम्झौतामा विद्यमान व्यापार घाटालाई सन्तुलित गर्नेगरी द्विपक्षीय सहमति निर्माण गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दवाब दिँदै आएको छ । दुबैपक्षबीच आगामी सेप्टेम्बरसम्ममा व्यापार सम्झौता गर्ने पहल भइरहेको अमेरिकी अधिकारीले बताएका छन् ।

प्रकाशित मिति: २४ साउन २०७६, शुक्रबार  २१ : ४० बजे