आईसीटी अवार्ड विजेतालाई वाणिज्य बैंकले १५ लाखसम्म विना धितो सहुलियत ऋण दिने

0
Shares

सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डका रुपमा चिनिएको ‘आइसिटी अवार्ड’ को चौथो संस्करण यही साउन ३२ गते सोल्टी क्राउन प्लाजामा आयोजना हुँदै छ। यस वर्षको आइसिटी अवार्डमा ३ विधाका सर्वोत्कृष्टहरुलाई राष्ट्रिय वाणिज्य बैंकले १५ लाखसम्मको सहुलियतपुर्ण विना धितो ऋण दिने जानकारी गराएको छ।

राष्ट्रिय वाणिज्य बैंक आइसिटी अवार्ड २०१९ को बैकिङ पार्टनरको रुपमा रहेको छ। स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्डका विजेतालाई बैंकले यो सुविधा दिन लागेको हो।

यसैगरी आइसिटी अवार्डको इन्सुरेन्स पार्टनरको रुपमा रहेको एसियन लाइफ इन्सुरेन्सले सम्पूर्ण अवार्ड विजेताहरुलाई १० लाखसम्मको इन्सुरेन्स गरिदिने जानकारी गराएको छ। यस वर्ष १० वटा विधामा आइसिटी अवार्ड प्रदान गरिनेछ।

आइसिटी अवार्ड २०१९ सफल बनाउन २ दर्जन बढि सस्थाहरुले सहयोग तथा सहकार्य गरेका छन। 

जेष्ठ १, २०७६ देखि सुरु भएको आइसिटी अवार्डको तयारी साउन ३२ गते ग्राण्ड फिनालेको रुपमा समापन हुनेछ। विभिन्न ९ विधामा २ सय बढिको नोमिनेशन प्राप्त भएको अवार्डको छनौट प्रकृयामा ११ जना जुरी र ८ जना जुरी सल्लाहकारहरुको सहभागिता रहेको छ।

यस वर्ष स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, पायोनियर आइसिटी अवार्ड, डिजिटल गभर्नेन्स आइसिटी अवार्ड, आन्टरप्रेनर्स आइसिटी अवार्ड र डायस्पोरा आइसिटी अवार्ड छन्। यसैगरी यस वर्ष डिजिटल एजुकेसन आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड गरी दुई विधा थप गरिएको हो। साउन ३२ गते शनिवार आयोजना हुने फिनाले हिमालय एचडी, हाम्रो पात्रो, फेसबुक तथा युट्युबाट प्रत्यक्ष प्रसारण समेत हुने जनाइएको छ।