सनराइज बैंकको खुद नाफा १७० करोड, वितरण योग्य रकम १११ करोड

0
Shares

सनराइज बैंकले गत आर्थिक वर्षमा १ अर्ब ७० करोड खुद मुनाफा आर्जन गरेको छ।

बैंकको नाफा अघिल्लो आर्थिक बर्षको तुलनामा करिब १६ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक बर्ष बैंकले १ अर्ब ४७ करोड खुद मुनाफा गरेको थियो।

बैंकको वितरणयोग्य मुनाफा भने एक अर्ब ११ करोड रुपैयाँ छ । यस हिसाबले बैंकले करिब १३ प्रतिशतसम्म लाभांश दिन सक्ने देखिन्छ ।

बैंकले ७५ अर्ब ४३ करोड निक्षेप संकलन गरेर ६८ अर्ब ८७ करोड कर्जा लगानी गरेको छ। बैंकले ११.९७ प्रतिशतले तथा कर्जा १६.३२ प्रतिशतले बढाएको छ । जसबाट ३ अर्ब ५९ करोड खुद ब्याज आम्दानी गरेको छ। जुन अघिल्लो वर्षको भन्दा ३५.४७ प्रतिशतले धेरै हो ।

हालसम्म बैंकको चुक्ता पुँजी ८ अर्ब १५ करोड २५ लाख रुपैयाँ रहेको छ । विभिन्न कोषमा गरेर रिजर्भमा चार अर्ब १९ करोड राखेको छ ।

बैंकको खराब कर्जा अनुपात १.०३ प्रतिशत छ भने प्रति शेयर आम्दानी २० रुपैयाँ ९४ पैसा, प्रति शेयर नेटवर्थ १५१ रुपैयाँ ४७ पैसा र मुल्य आम्दानीको अनुपात ११.८४ गुणा छ।