बैंकहरुलाई तत्काल ब्रोकर लाइसेन्स वितरण गर्न बैंकर्स संघको माग

0
Shares

नेपाल बैंकर्स संघले प्रक्रिया पुरा गरेका वाणिज्य बैंकहरुलाई तत्काल शेयर ब्रोकरेजको लाइसेन्स प्रदान गर्न माग गरेको छ।

संघको बुधबार बसेको बैठकले नेपाल स्टक एक्सचेन्जमा सहायक कम्पनी स्थापनागरी प्रकृया पुर्याएर निवेदन दिएका बैंकहरुलाई लाइसेन्स दिन माग गर्ने निर्णय गरेको हो।

बैकर्स संघले बैंकहरुले सबै प्रकृया पुरा गरी लाइसेन्स लिन आवेदन समेत दिएको अवस्थामा नेप्सेले आवेदन प्रक्रिया स्थगन गरेको भन्दै आपत्ति जनाएको छ।

संघीय संसद्को अर्थ समितिले अध्ययन समिति गठन गरेपछि अर्थ समितिको पत्रका आधारमा नेप्से सञ्चालक समितिले लाइसेन्स वितरण प्रक्रिया स्थगित गर्ने निर्णय गरेको थियो ।

नेप्सेले गत साउन १७ मा बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स वितरणका लागि कार्य्विधि सँगै आवेदनका लागि सूचना पनि जारी गरेको थियो । सूचनामा पहिलो चरणका लागि १५ दिनको समयावधि दिइएको थियो । कार्य्विधि जारी गरेको १७ दिन पछि उक्त प्रक्रिया स्थगित भएको थियो ।
अर्थसमितिले मुद्रा बजार र पुँजी बजारसम्बन्धी अध्ययन गर्न उपसमिति गठन गरिएको जानकारी नेप्सेमा गराएपछि यो प्रक्रिया रोकिएको हो ।

राष्ट्र बैंकबाट धितोपत्र व्यवसाय गर्नका लागि वाणिज्य बैंकले सहायक कम्पनीमार्फत धितोपत्र व्यवसाय सञ्चालन गर्ने स्वीकृति लिएको हुनुपर्ने तथा कर चुक्ता प्रमाणपत्र पेस गर्नुपर्ने व्यवस्था कार्य्विधिमा उल्लेख छ । बैंकको सहायक कम्पनीमा वाणिज्य बैंकको शतप्रतिशत लगानी भएको र न्यूनतम चुक्ता पुँजी २ करोड रुपैयाँ हुनुपर्नेछ ।

नेपाल राष्ट्र बैंकले ग्लोबल आईएमई बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, एनआईसी एसिया, बैंक अफ काठमान्डू, कुमारी बैंक लिमिटेड, सिद्धार्थ बैंक, जनता बैंक, मेगा बैंक, सेन्चुरी कमर्सियल बैंक र सानिमा बैंकलाई ब्रोकर कम्पनी सञ्चालनका लागि सहायक कम्पनी खोल्न अनुमति दिएको थियो । अन्य बैंकहरु प्रक्रियामा रहेका थिए । हाल ५० वटा ब्रोकर कम्पनी सञ्चालनमा छन्।