नेप्से सूचक १६.६५ अंकले ओरालो लाग्दा शेयर बजारबाट २० अर्बको सम्पत्ति गायब

0
Shares

सातामा नेप्से परिसूचक १६.६५ अंकले गिरावट आउँदा शेयर बजारबाट २० अर्ब रुपैयाँ बराबरको सम्पत्ति शेयर लगानीकर्ताले गुमाएका छन्। यस साता कूल बजार पूँजीकरण १५ खर्ब १९ अर्ब रुपैयाँमा ओर्लिएको छ । गत साता कूल बजार पूँजीकरण १५ खर्ब ३९ करोड रुपैयाँ रहेको थियो।

नेप्से सूचक घटेपनि यस साता अघिल्लो साताको तुलनामा कारोबार रकम भने ५ प्रतिशतले बढेको छ । अघिल्लो साता एक अर्ब ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा यस साता एक अर्ब ६२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। यस साता ६० लाख २५ हजार कित्ता शेयर २९ हजार ६ सय पटक खरिद बिक्री भएका छन् ।

आइतबार १२१३.०६ बिन्दुमा खुलेको नेप्से ११९६.४१ विन्दुमा झरेको हो। यस साता रुलर माइक्रोफाइनान्सको र प्रभु बैंकको १० करोड रुपैयाँ बढीको संस्थापक शेयर कारोबार भयो। एनआईसी एशिया बैंक, नेपाल बैंक, कुमारी बैंक र प्रभु बैंक ५ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । छिमेक लघुवित्तको संस्थापक शेयर, इन्भेष्मेन्ट बैंक, नेपाल लाईफ, र नबिल बैंक शिर्ष दश कारोबार हुने कम्पनीमा समेटिएका छन्। 

यस साता सबैको लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै बढेको छ। कम्पनीको शेयरमूल्य ससातामा ३७.८१ प्रतिशतले बढेर प्रतिकित्ता ४१५ रुपैयाँ पुगेको हो। सिन्धु विकास बैंक ७.८१, प्रोगेसिभ फाइनान्स ६.१२, मेरो माइक्रोफाइनान्सको शेयरमूल्य ५.४२ प्रतिशतले सुधार भएको छ। साल्ट ट्रेडिङ, नाडेप लघुवित्त, बोटलर्स नेपाल तराई, आरएमडिसी र समता लघुवित्त तथा सेन्टल फाइनान्स शेयरमूल्य बढने दश कम्पनीमा परेका छन्।

उता पाँचथर पावरको शेयरमूल्य ९.९१ प्रतिशतले घटेर १०० रुपैयाँमा झरेको छ । प्रिमियर इन्स्योरेन्स ८.८९, गुराँस लाइफ ८.७०, सिटी एक्सप्रेस फाइनान्सको शेयरमूल्य ८.६२ प्रतिशत भन्दा बढीले घटेको छ । रसुवागढीको ७.५०, आँखुखोला ७.४६, युनिभर्सल ७.२३, साञ्जेन ६.४५, वल्ड मर्चेन्ट ६.३२ र समीट माइक्रोफाइनान्सको शेयरमूल्य ६.१३ प्रतिशतले घटेको छ।

प्रभु बैंकको संस्थापक शेयर सबैभन्दा धेरै ६ लाख २० हजार कित्ता किनबेच भएको छ। भने कारोबार भएको संख्याका आधारमा रसुवागढी र साञ्जेनको धेरै संख्यामा कारोबार भयो। रसुवागढीको ३ हजार ६४८ पटक र सान्जेनको पनि ३ हजार ५९३ पटक शेयर कारोबार भएको हो ।