एटिएम ह्याक हुनुको कारण ‘म्याग्नेटिक स्ट्राइप कार्ड’

0
Shares

-सुरेन्द्र थापा

बैंकहरुको एटिएम मार्फत ह्याकरले ३ करोड ४४ लाख रुपैयाँ गैरकानुनी रुपमा झिकेपछि त्यसको अध्ययनका लागि गठित समितिले बैंकहरुले अझै पनि म्याग्नेटिक स्ट्राइप कार्ड जारी गर्न नरोक्दा समस्या आएको औल्याएको छ ।

ह्याकरले नेपाली बैंकका एटिएमबाट नेपाली रुपैयाँ एक करोड ७६ लाख र भारतीय बैंकका एटिएमवाट एक करोड ५ लाख भारु चोरी गरेपछि त्यसको विस्तृत अध्यनका लागि आइतबार समिति नै गठन गरेको थियो । सो समितिले उपलब्ध तथ्यांकहरुको विश्लेषण गरेर आज(बुधबार) राष्ट्र बैंकलाई प्रतिवेदन बुझाउने छ ।

समितिले अध्ययन प्रतिवेदनलाइ अन्तिम चरणमा पुर्याएको अध्ययन समितिमा सहभागी एक अधिकारीले बताए । प्रतिवेदनले पनि बैंकहरुले २०७२ असोज भित्रमा प्रतिस्थापना गर्नु पर्ने म्याग्नेटिक स्ट्राइप कार्ड लागि चिप्स बेस्डले प्रतिस्थापना गर्नुपर्ने नगरेको भन्ने औल्याएको ति अधिकारीको भनाई छ ।  त्यसका साथै समितिले यो अपराधको सन्दर्भमा विस्तृत तथ्य पत्ता लाउनका लागि फरेन्सिक इन्भेष्टिगेसन गर्ने तथा चिप्स सहितको कार्ड तथा विना पिन एटिएमले पैसा दिन नै नमिल्ने अवस्था कसरी दियो भन्ने कुरामा प्रतिवेदन केन्द्रित रहेको उनले जानकारी दिए ।

गत शुक्रबार र शनिबार चिनियाँ नागरिकले नेपालका केही एटिएमवाट गैरकानुनी रुपमा पैसा झिकेपछि केन्द्रीय बैंकले आइतबार अध्ययन समिति गठन गरेको थियो । सो समितिले एटिएममा देखिएका दिर्घकालीन र अल्पकालीन समस्या र समाधानका उपाय सहितको प्रतिवेदन बुझाउने राष्ट्र बैंकले जनाएको थियो ।

समितिले पनि दिर्घकालीन समस्या के हो ? र त्यसको समाधानका लागि फरेन्सिक इन्भेष्टिगेसन गर्ने र समाधान गर्न सुझाउने छ भने अल्पकालीन रुपमा देखिएका तत्काल सम्बोधन गर्न सकिने समस्यालाई समेत औल्याइ सुझाव दिने तयारी गरेको छ ।

आर्थिक वर्ष २०७२/२०७३ को मौद्रिक नीतिले सञ्चालन जोखिम कम गर्दै ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रयोगमा सुरक्षाको प्रत्याभूति दिलाउन बैंक तथा वित्तीय संस्थाहरुले हाल प्रयोगमा ल्याएका डेबिट, क्रेडिट, प्रिपेड लगायतका म्याग्नेटिक स्ट्राइप कार्डलाइ २०७२ असोज भित्र चिप बेसड् कार्डले प्रतिस्थापन गर्नुपर्ने व्यवस्था गरिने उल्लेख गरेको छ ।

सो व्यवस्थाको कार्यान्वयन गर्न भन्दै केन्द्रीय बैंकले २०७२ असोज एक गते सञ्चालन जोखिम कम गर्दै ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रयोगमा सुरक्षाको प्रत्याभूति दिलाउन बैंक तथा वित्तीय संस्थाहरुले हाल प्रयोगमा ल्याएका डेबिट, क्रेडिट, प्रिपेड लगायतका म्याग्नेटिक स्ट्राइप कार्ड लाई २०७२ असोज भित्र चिप बेसड् कार्डले प्रतिस्थापन गर्नुपर्ने व्यवस्था गरेको छ । तर, पनि नेपाली केही बैंकहरुले त्यसको पालना नगर्दा समस्या आएको समेत समितिको ठहर छ ।

गत शुक्रबार र शनिवार भएको एटिएम ठगी बैंक तथा सेवा प्रदाय कम्पनी नेप्सको सिस्टसम्म नपुगेको बताइएको छ । ह्याकरले एटिएम बाट पैसा झिके पनि खातावालाको पैसा भने नघटेको हुनाले बैंकको सिस्टम सम्म ह्याकर नपुगेको  विज्ञहरु बताउछन् ।

ह्याकरले कहाँसम्म एक्सेस गरेको छ भन्ने विस्तृत जानकारीका लागि फरेन्सिक इन्भेष्टिगेसन गरेपछि मात्र थाहा हुनेछ । त्यसका लागि नेपालमा फरेन्सिक इन्भेष्टिगेशन विज्ञ नभएकाले विदेश मार्फत ल्याउनु पर्ने हुन्छ । फरेन्सिक इन्भेष्टिगेसनका लागि सिङगापुर तथा हङकङ देखि विज्ञहरु आउने तयारीमा रहेको समेत स्रोतले जानकारी दियो ।

नेपाल प्रहरीले पनि घटनाको अध्ययन गरिरहेको छ । घट्नामा संलग्न स्वदेशी तथा विदेशी नागरिक गरी ८ जनालाइ नेपाल प्रहरी पक्राउ समेत गरिसकेको छ । प्रहरीले नगद, एटीएम कार्ड लगायत विभिन्न उपकरणसहित पक्राउ गरेको थियो ।