आरएसडिसी लघुवित्तको लाभांश प्रस्ताव, मर्जर समिति पनि गठन

0
Shares

आरएसडिसी लघुवित्तले गत आर्थिक वर्ष २०७५/०७६ को कमाईबाट शेयरधनीहरुलाई कूल १६ लाभांश प्रस्ताव गरेको छ।

लघुवित्त सञ्चालक समितिको बैठकले ६ प्रतिशत बोनस र बोनसमा लाग्ने करसहित १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

कम्पनीले ३ करोड ८० लाख १० हजार रुपैयाँ बराबरको बोनस शेयर तथा ६ करोड ३३ लाख ५१ हजार रुपैयाँ नगद लाभांश बाँड्नेछ ।

हाल कम्पनीको चुक्ता पूँजी ६३ करोड ३५ लाख छ । बोनस वितरण पश्चात आरएसडीसीको चुक्ता पूँजी ६७ करोड १५ लाख २२ हजार रुपैयाँ पुग्नेछ ।

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा लघुवित्तले १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद गरि कूल १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो।

असार मसान्त सम्ममा कम्पनीले ८ करोड ७ लाख ४४ हजार रुपैयाँ नाफा कमाएरे प्रतिसेयर आम्दानी १० रुपैयाँ १६ पैसा र प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ७१ पैसा कायम गरेको छ ।

साथै लघुवित्तले अन्य संस्थासँग मर्जर तथा प्राप्तीमा जानका लागि चन्द्र प्रसाद शर्माको संयोजकत्वमा चार सदस्यीय मर्जर समिति समेत गठन गरेको छ।