‘समस्यारहित नेपाल–चीन सम्बन्ध हाम्रा लागि महत्वपूर्ण र मूल्यवान’

0
Shares

नेपाल र चीन पारस्परिक हितका विविध क्षेत्रमा सहयोग प्रवद्र्धन गर्न सहमत भएका छन् । साथै, विगतमा भएका सम्झौता र समझदारी कार्यान्वयन गर्न पनि दुवै देश सहमत भएका छन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनको राज्य परिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यीले नेतृत्व गरेको राजधानीमा सम्पन्न प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तामा त्यस्तो भएको हो ।

त्यस अवसरमा दुुवै देशका परराष्ट्रमन्त्रीले द्विपक्षीय सम्बन्धका सबै महत्वपूर्ण पक्षको समीक्षा गर्नुका साथै दुई मुलुकबीच पछिल्लो समयमा विस्तार एवं सुदृढ हुँदै गएको आपसी सम्बन्धप्रति सन्तुष्टि व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालको सामाजिक–आर्थिक विकासका निम्ति चीनबाट निरन्तर प्राप्त सहयोगको सराहना गर्दै मन्त्री ज्ञवालीले सम्पर्क सञ्जाल विस्तार, भौतिक पूर्वाधार, ऊर्जा र शिक्षाका क्षेत्रमा आपसी सहयोग सुदृढ तुल्याउन अपरिहार्य भएको बर्ताको थियो । प्रत्युत्तरमा विदेशमन्त्री वाङले आफ्ना समकक्षीलाई नेपालको विकासका प्रयासमा चिनियाँ सहयोगको सुनिश्चितताबारे आश्वस्त पारेका थिए ।

वार्तामा दुवै पक्षले व्यापार, लगानी र पर्यटनका क्षेत्रको प्रवद्र्धनलाई विशेष प्राथमिकता दिँदै त्यसमा सारभूत विचार आदानप्रदान गरेका थिए । पारस्परिक विश्वास र भरोसा अभिवृद्धि गर्न तथा द्विपक्षीय सम्बन्धलाई अझ सबल तुल्याउन नियमित रुपमा उच्चस्तरीय भ्रमण आदानप्रदानको महत्वमा जोड दिएका थिए ।

क्षेत्रीय तथा बहुपक्षीय मञ्चमा पारस्परिक स्वार्थका विषयमा द्विपक्षीय सहयोगलाई निरन्तता दिन पनि दुवै देशका परराष्ट्रमन्त्री सहमत र्भका छन । नेपाल र चीनबीचको सम्बन्धलाई थप बलियो र फराकिलो बनाउँदै दुवै देश र जनताको हित प्रवद्र्धनमा परराष्ट्रमन्त्रीस्तरीय द्विपक्षीय वार्ता सफल भएको छ ।

यसैगरी दुई देशबीचको राजनीतिक, आर्थिक, सामाजिक तथा जनस्तरको सम्बन्ध उल्लेख्य रुपमा प्रगतितर्फ उन्मुख भएको सन्देश प्रवाह गर्न पनि वार्ता सफल भएको छ । दुवै देश एक अर्काका चासोप्रति सजग र संवेदनशील छन् भने एक चीन नीतिप्रतिको नेपालको अविचलित अडान छ । नेपाली भूमिबाट चीन विरोधी गतिविधि हुन नदिने प्रतिबद्धताले चीनले नेपाललाई भरपर्दो मित्र मानेर यहाँको सामाजिक–आर्थिक विकासका निम्ति निःशर्त आर्थिक एवं भौतिक सहयोग गर्दै आएको छ । चिनियाँ सहयोग सरकारी संयन्त्रबाट प्राप्त हुने भएकाले त्यसमा पारदर्शिताको सुनिश्चित पनि हुने गरेको छ ।

साझा विकास, क्षेत्रीय शान्ति र स्थायित्वका निमित नेपाल र चीनबीचको साझेदारी र सहकार्य आज पुनः मुखरित भएको छ । चीनले हासिल गरेको समृद्धि र विष्मयकारी विकास नेपालका लागि अवसर हो भने चिनियाँ राष्ट्रपति सी चिनफिङले अघि सारेको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ अन्तर्गत हिमालय वारपार सम्पर्क सञ्जाल विस्तारसँगै नेपालको आर्थिक समृद्धिको यात्रामा त्यसले सघाउने छ ।

नेपाल–चीन सम्बन्धलाई सभ्यता, संस्कृति, इतिहास र भूगोलले जोडेको र त्यो शान्तिपूर्ण, सहअस्तित्व, सार्वभौम समानता र अहस्तक्षेपजस्ता पञ्चशीलका सिद्धान्तमा अडिएको छ । पृथक परिवेश र आकार अनि राजनीतिक प्रणाली भएपनि कसरी असल छिमेकी सम्बन्ध कायम राख्न सकिन्छ भन्ने उदाहरण नेपाल–चीन सम्बन्धलाई दिने गरिन्छ । समस्यारहित नेपाल–चीन सम्बन्ध हाम्रा लागि महत्वपूर्ण र मूल्यवान छ ।