लगानीकर्ताको मनोविज्ञान सकारात्मक हुन सकेन, नियामक मौन

0
Shares

शेयर लगानीकर्ताको मनोबल सकारात्मक बन्न नसक्दा लगातार चौथो दिन शेयर बजारमा गिरावट आएको छ । गत बिहीबारदेखि निरन्तर ओरालो लागेको नेप्से सूचक चार कारोबार दिनमा २७ अंक बढीले ओरालो लागेको छ ।

मंगलबार बजारमा सुधार आउने संकेत देखिए पनि बजार बन्द हुने समयसम्म आईपुग्दा २.२४ अंकले ओरालो लागेको छ । सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गर्दै साधारण सभा आह्वान गरिरहदा पनि लगानीकर्तालाई बजारले तान्न सकेको छैन् । जसले गर्दा कारोबार पनि सामान्य हुँदै आएको छ । मंगलबारको बजारमा पौने २४ करोड बराबरको शेयर किनबेच भएको छ ।

बजार सुधार हुने कुनै संकेत नदेखिदा शेयर किन्नेहरु घटेका छन भने बिक्री गर्नेहरुले पनि क्रेता पाइरहेका छैनन् । शेयर बजार सकारात्मक हुन नसक्दा नयाँ लगानीकर्ताहरु बजार पस्ने आँट गर्न सकेका छैनन् भने पुराना लगानीकर्ताहरुले पनि लगानी बढाउन सकेका छैनन् । ठूला र संस्थागत लगानीकर्ता समेत पर्ख र हेरको अवस्थामा रहदा सर्वसाधारण लगानीकर्ता अलमलमा देखिन्छन् ।

विगतमा दोहोरो अंकले बजार बढ्दा लगानीकर्तालाई सचेत गराउँदै विज्ञप्ति जारी गर्ने नियामक निकाय पनि लगातार बजार घट्दा समेत मौन देखिएका छन् । निरन्तर ओरालो लागेको बजारलाई टेवा दिन सरकार तथा नियामक निकायहरुबाट तुरुन्तै कुनै आधार नपाउँदा लगानीकर्ताको मनोबल फर्कन नसकेको शेयर लगानीकर्ताहरु बताउँछन् ।

बजारमा संस्थागत लगानीकर्ता भित्र्याउन नसक्दा शेयर बजार सुध्रन नसकेको विज्ञहरुको बुझाई छ । बजारमा लगानीकर्ताको विस्वास फर्काउन नियामकहरुले केहि राहात प्याकेजहरु ल्याउनुपर्ने उनीहरुको भनाई छ ।

मंगलबार नेप्से सूचक २.२४ अंकले घटेर ११६६.६७ विन्दुमा झरेको छ । १७२ कम्पनीको ९ लाख ९२ हजार १२२ कित्ता खरिदबिक्री भएको बजारमा २३ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

१२ वटा समूहको कारोबार भएकोमा ४ समूहका सूचक बढेका छन् भने बाँकी समूह राता छन् । सबैभन्दा धेरै होटेल समूह २८.८७ अंकले बढेको छ । वाणिज्य बैंक समूह १.७५ अंकले घटेको छ ।

सबैभन्दा धेरै कुमारी बैंकको १ करोड २५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा एनआईसी एशिया र नेपाल लाइफ पनि एक करोड बढीको कारोबार भयो । सबैभन्दा धेरै हिमालय उर्जा विकास कम्पनीको शेयरमूल्य ६.७२ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै सेन्ट्रल फाइनान्सका शेयरमूल्य ५ प्रतिशतल घटेको छ ।