प्राइम र कन्काईको एकीकृत कारोबार भोलिदेखि,कन्काईका सबै सेवा बन्द

0
Shares

प्राइम कमर्सियल बैंक र कन्काई विकास बैंकको एकीकृत कारोबार भदौ २९ गते आइतबारदेखि सुरु हुने भएको छ । प्राइमले कन्काईलाई कन्काईको १०० कित्ता शेयर बराबर ७१.५ कित्ता शेयर दिएर किनेको थियो ।

गत साउन २२ गते दुवै बैंकले विशेष साधारणसभाबाट मर्जर प्रस्ताव पारित गरेका थिए । आइतबार देखि कन्काईको सबै कारोबार प्राइम कमर्सियल बैंक लिमिटेडको नामबाट सुरु हुनेछ । 

एकीकृत कारोबार गर्दा दुबै संस्थाको तथ्यांकलाई सफ्टवेयरमार्फत वित्तीय कारोबार गर्नुपर्ने भएकाले भोलि भदौ २८ गते शनिबार एक दिन कन्काई विकास बैंकले प्रदान गर्दै आएको बैंकिङ सेवा, एटीएम, एसएमएस, इन्टरनेट बैंकिङ लगायतका अन्य सेवाहरु बन्द रहने बैंकले जनाएको छ ।

एक्विजिसन पश्चात बैंकको केन्द्रीय कार्यालय हाल प्राइम कमर्सियलको कमलपोखरी स्थित केन्द्रीय कार्यालयमा नै रहनेछ ।

एकीकृत कारोबार हुनुअघि प्राइमको चुक्ता पूँजी ९ अर्ब ३१ करोड ८६ लाख २६ हजार रुपैयाँ र कन्काईको ५१ करोड ५० लाख रुपैयाँ पूँजी रहेको छ। कन्काई विकास बैंकको प्राप्ति पश्चात प्राइमको चुक्ता पूँजी ९ अर्ब ६८ करोड ६८ लाख ५१ हजार रुपैयाँ पुग्नेछ । यस्तै बैंकको शाखा सञ्जाल ८९ पुग्नेछ ।

प्राइम कमर्सियल बैंकले गत जेठ २५ गते ललितपुर फाइनान्स र असार २० गते कैलाश विकास बैंकलाई प्राप्ति गर्ने सम्झौता गरिसकेको छ ।

बैंकले कैलाशलाई १००: ९४ स्वाप रेसियोमा र ललितपुर फाइनान्सलाई २० देखि २५ प्रतिशत स्वाप दिने बुझिएको छ। कैलाशको २ अर्ब ५२ करोड रुपैयाँ र ललितपुर फाइनान्सको चुक्ता पूँजी २३ करोड ६८ लाख रुपैयाँ छ।