प्राइम बैंकमा कन्काई विकास मिसियो, कैलाश विकास र ललितपुर फाइनान्स पाइपलाइनमा

0
Shares

२० अर्बको बैक बन्ने लक्ष्य सहित मर्जर तथा एक्विजिशनलाई प्राथमिकतामा राखेको प्राइम बैंकमा आजदेखि कन्काई विकास बैंक विलिन भएको छ ।
प्राइम कमर्सियल बैंक र कन्काई विकास बैंकको भदौ २९ गते आइतबारदेखि एकीकृत कारोबार सुरु हुदैछ ।

प्राइमले कन्काईलाई कन्काईको १०० कित्ता शेयर बराबर ७१.५ कित्ता शेयर दिएर किनेको थियो । गत साउन २२ गते दुवै बैंकले विशेष साधारणसभाबाट मर्जर प्रस्ताव पारित गरेका थिए ।

आइतबार देखि कन्काईको सबै कारोबार प्राइम कमर्सियल बैंक लिमिटेडको नामबाट सुरु हुनेछ । एक्विजिसन पश्चात बैंकको केन्द्रीय कार्यालय हाल प्राइम कमर्सियलको कमलपोखरी स्थित केन्द्रीय कार्यालयमा नै रहनेछ ।

एकीकृत कारोबार हुनुअघि प्राइमको चुक्ता पूँजी ९ अर्ब ३१ करोड ८६ लाख २६ हजार रुपैयाँ र कन्काईको ५१ करोड ५० लाख रुपैयाँ पूँजी रहेको छ । कन्काई विकास बैंकको प्राप्ति पश्चात प्राइमको चुक्ता पूँजी ९ अर्ब ६८ करोड ६८ लाख ५१ हजार रुपैयाँ पुग्नेछ । यस्तै बैंकको शाखा सञ्जाल ८९ पुग्नेछ ।

प्राइम कमर्सियल बैंकले गत जेठ २५ गते ललितपुर फाइनान्स र असार २० गते कैलाश विकास बैंकलाई प्राप्ति गर्ने सम्झौता गरिसकेको छ ।

बैंकले कैलाशलाई १००:९४ स्वाप रेसियोमा र ललितपुर फाइनान्सलाई २० देखि २५ प्रतिशत स्वाप दिने बुझिएको छ। कैलाशको २ अर्ब ५२ करोड रुपैयाँ र ललितपुर फाइनान्सको चुक्ता पूँजी २३ करोड ६८ लाख रुपैयाँ छ।