नेपाल विद्युत प्राधिकरणले २५ प्रतिशत शेयर जनतालाई बिक्री गर्ने

0
Shares

सरकारी स्वामीत्वको नेपाल विद्युत् प्राधिकरणले २५ प्रतिशत शेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको छ । जसका लागि आवश्यक पहल थालिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको विगत तीन बर्षको उपलब्धी र भावी योजनाहरु बारे जानकारी दिदैं प्राधिकरण ऐनमा भएको व्यवस्था अनुसार २५ प्रतिशत शेयर सर्वसाधारणका लागि निश्कासन गर्न आवश्यक पहल थालिएको कार्यकारी निर्देशक कुलमान घिसिङ्ले बताए ।

नेपाल सरकारले प्राधिकरणलाई कम्पनी मोडलमा संचालन गर्न स्वकृती प्रदान गरिसकेको छ । प्राधिकरणको दोस्रो वित्तीय पुर्नसंरचनामा प्राधिकरणलाई कम्पनी मोडलमा संचालन गर्ने व्यवस्था गरिएको थियो ।

सरकारको पूर्ण स्वामितवको संस्थालाई पुनसंरचना गरेर सर्वसाधारणलाई शेयर निष्काशन गर्ने योजना प्राधिकरणको छ ।

गत आर्थिक वर्षमा ७ अर्ब ३० करोड रुपैयाँ नाफा गरेको प्राधिकरणले चालु आर्थिक वर्षमा ८ अर्ब ५० करोड रूपैयाँ नाफाको प्रक्षेपण गरेको छ। नाफा बढेपछि प्राधिकरणको सञ्चित नोक्सानी घटेर १५ अर्ब रुपैयाँमा झरेको छ ।

हाल प्राधिकरणको चुक्ता पूँजी एक खर्ब २५ अर्ब रुपैयाँ छ। २५ प्रतिशत शेयर निष्काशन भएमा प्राधिकरणको ३१ अर्ब २५ करोड रुपैयाँको आईपिओ आउने छ।

बिजुली चुहावट २५ बाट घटेर १५ प्रतिशतमा झरेको छ । चालु आवमा विद्युत् चुहावटलाई १२ प्रतिशतमा झार्ने लक्ष्य प्राधिकरणको छ।प्राधिकरणले चुहावट घटाएर नाफा बढाउने लक्ष्य लिएको छ । गत वर्ष प्राधिकरणले ७३ अर्ब ४६ करोड रुपैयाँको कारोबार गरेको थियो।

लामो समयदेखि घाटामा रहेको प्राधिकरण पछिल्लो २ वर्षदेखि नाफामा छ । संस्थागत सुशासन, अनावश्यक खर्च कटौती र चुहावट नियन्त्रणले गर्दा नाफा बढेको हो।

प्रधिकरणको विद्युतगृहको बिजुली उत्पादन बढेर २ अर्ब ५५ करोड युनिट पुगेको छ भने डेडिकेटेड फिडरबाट थप २ अर्ब ५० करोड रुपैयाँ आम्दानी गरेको छ । यस्तै विद्युत चुहावट १५.३२ प्रतिशतमा झारेको छ । प्राधिकरणले औसत ८ रुपैयाँमा बिजुली किनेर १० रुपैयाँ ४ पैसामा बिक्री गर्दै आएको छ।

२०७३ भदौमा कुलमान घिसिङ कार्यकारी निर्देशकमा नियुक्त हुँदा प्राधिकरण ८ अर्ब ८९ करोड खुद नोक्सानीमा थियो ।