दुई महिनामा सरकारको पूँजीगत खर्च ५ अर्ब १३ करोड मात्रै, १३८ अर्ब राजश्व उठ्यो

0
Shares

सरकारले चालु आर्थिक वर्षको पहिलो दुई महिनमा एक खर्ब ३८ अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार कर शीर्षक अन्तर्गत एक खर्ब २९ अर्ब ४८ लाख र गैरकर शीर्षक अन्तर्गत ९ अर्ब ३१ करोड ९१ लाख रुपैयाँ राजश्व संकलन भएको छ ।

सरकारले चालु आर्थिक वर्षको पहिलो दुई महिना अर्थात साउन र भदौमा निर्धारित लक्ष्यको १२.४८ प्रतिशत राजश्व संकलन गरेको हो । चालु आर्थिक वर्षका लािग सरकारले ११ खर्ब १२ अर्ब ३ करोड ३२ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको छ ।

यस्तै, सरकारले आर्थिक वर्षको पहिलो २ महिनामा कूल ५९ अर्ब ३९ करोड २२ लाख बजेट खर्च गरेको छ । यो कुल बजेटको ३.८७ प्रतिशत हो । सरकारले चालू वर्षमा १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख बजेट विनियोजन गरेको छ ।

सरकारले भदौसम्म चालूगत खर्च अन्तर्गत ५३ अर्ब ६६ करोड २८ लाख खर्च गरेको छ भने पूँजीगत तर्फ ५ अर्ब १३ करोड ४१ लाख रुपैयाँ मात्र खर्च गरेको छ । चालुगत खर्च यो शिर्षकको कुल बजेटको ५.६१ प्रतिशत हो भने पूँजीगत खर्च १.१७ प्रतिशत मात्र हो । वित्त व्यवस्थापन तर्फ सरकारले ५९ करोड ५३ लाख खर्च गरेको छ ।

सरकारले चालु आर्थिक वर्षमा १५ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको थियो। जसमा चालु खर्च ९ खर्ब ५७ अर्ब, त्यस्तै पूँजीगत खर्च तर्फ ४ खर्ब ८ अर्ब रुपैयाँमा विनियोजन गरेको छ ।