भाषणले उचालिएको बजार तीन दिन पनि टिकेन, कहिले बन्ने स्मार्ट लगानीकर्ता ?

0
Shares

अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजारमा लगानी गर्न आह्वान गरेपछि दुई दिनमै ५० अंकले उकालो लागेको नेप्से बिहीबार १८ अंकले झरेको छ ।

अल्पकालिन लगानीकर्ताहरु नाफा बुक गर्न हाबी हुँदा बजारको वृद्धि टिक्न सकेन् । सूचीकृत कम्पनीहरुले धमाधमा लाभांश घोषणा गर्ने र लाभांश वितरणका लागि साधारण सभा आह्वान गर्ने क्रम बढ्दा पनि बजारमा देखिएको यस प्रकारको उतारचढाबले लगानीकर्ताको निर्णय क्षमता समेत कमजोर रहेको देखाउँछ ।

घटानक्रमहरु अध्ययन गर्दा नेपालको शेयर बजारका लगानीकर्ताहरु कम्पनीको प्रगति विवरण, देशका आर्थिक गतिविधि भन्दा पनि भाषणबाजीलाई पछ्याउने गरेको संकेत गर्छ । धितोपत्र बोर्ड, नेप्से लगायतले बजार विकासका कार्यक्रम र भएका प्रगतिहरु हेर्दा लगानीकर्ता निरुत्साहित भैहाल्नु पर्ने अवस्था छैन । 

गत साता मात्रै राजधानीमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री खतिवडाले शेयर बजारका लगानीकर्ताहरु स्मार्ट बन्नुपर्ने बताएका थिए । तर अझै पनि भाषणबाजीका भरमा कारोबारको निर्णर्य गर्ने लगानीकर्ताको सक्रियता शेयर बजारमा हाबी हुँदा उच्च अंकको उतारचढाब हुने गरेको छ ।

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक १८.१२ अंक घटेर ११५५.३० झरेर बन्द भएको छ। दिनभरीमा १६६ कम्पनीका ३९ करोड ९९ लाख रुपैयाँको शेयर किनबेच भएको बजारमा ट्रेडिङ र सामूहिक लगानी कोषबाहेक सबै सूचक घटेका छन्।

यस दिन कारोबारमा आएका कम्पनीहरुमध्ये ११८ वटा कम्पनीको शेयरमूल्य घट्यो भने २९ वटा कम्पनीको शेयरमूल्य मात्र केहि बढ्यो । त्यस्तै १२ कम्पनीको शेयरमूल्य भने स्थिर रह्यो ।

बिहीबार शिबम् सिमेन्टस्को सबैभन्दा धेरै ५ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भयो भने प्रभु बैंकको पनि २ करोड ६७ लाख रुपैयाँको शेयर किनबेच भयो । यस दिन समता लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेर ५९४ रुपैयाँ पुगेको छ। त्यस्तै एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य पनि ७.२२ प्रतिशतले बढेको छ भने ८० प्रतिशत लाभांश प्रस्ताव गरेको नेशनल माइक्रोफाइनान्स र आँखुखोला जलविद्युतको शेयरमूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको छ।

यस दिन गुँरास लघुवित्त र स्पर्श लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ । दुबै लघुवित्तको शेयरमुल्य ८ प्रतिशतभन्दा धेरैले घटेको छ। त्यस्तै सूर्या लाइफ इन्स्योरेन्सको शेयरमूल्य ६.१० प्रतिशतले घटेको छ भने अरुण काबेली पावर, गणपति माइक्रोफाइनान्स, र नेपाल इन्स्योरेन्सको शेयरमूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ।