एनआरएनएको दश अर्बको सामूहिक लगानी कोषलाई मूर्तरुप दिईने

0
Shares

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को अध्यक्षका उम्मेदवार कुमार पन्तले मुलुकको विकास र समृद्धिका लागि लगानी भित्र्याउने घोषणा गरेका छन ।

सङ्घको अध्यक्षका लागि आज उम्मेदवारी घोषणा गर्दै उनले मुलुकको समृद्धिका लागि गैरआवसीय नेपालीको सामूहिक तथा व्यक्तिगत लगानी भित्र्याउने आफू सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।

उनले आफ्नो कार्यकालमा सानादेखि ठूला लगानीलाई अभियानमा समाहित गरी रु १० अर्बको सामूहिक लगानी कोषलाई मूर्तरुप दिने बताए । विदेशमा सिकेको ज्ञान, सीप र प्रविधि नेपाल भित्र्याउने वातावरण बनाउन नवीन पहल अघि बढाउने उनको उद्घोष थियो । पन्तले नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल बनाउन विश्वभर नेपालको पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्न विशेष भूमिका निर्वाह गर्ने बताए ।

सङ्घलाई कुनै पनि राजनीतिक छत्रछायाबाट मुक्त गरी विशुद्ध गैरआवासीय नेपालीको साझा संस्थाका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले नेपाल बाहिर रहेको सबै नेपालीलाई समेट्ने बताए । वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकले अत्यन्त न्यून ज्यालामा काम गर्नुपरेको अवस्था आफूले नजिकबाट नियालेको उल्लेख गर्दै पन्तले सुरक्षित र सम्मानपूर्ण वैदेशिक रोजगारीका लागि नेपाल सरकारसँग समन्वय गरेर अघि बढ्ने बताए ।

पन्तको उम्मेदवारीलाई संयुक्त अरब इमिरेट्स, साउदी अरिबिया, मलेसियालगायत मुलुकका गैरआवासीय नेपालीले समर्थन गरेका छन् । सन् १९७६ मा गोरखाको फुजेलमा जन्मनुभएका पन्तले जर्मनीलगायत युरोपका विभिन्न मुलुकमा सेवा क्षेत्रमा लगानी गरेका छन् । उन्ले नेपालमा जलविद्युत् परियोजना, ‘बैंकिङ’, ‘रेमिट्यान्स’, ‘रियल स्टेट’, सिमेन्ट उद्योगलगायतमा लगानी गरेका छन् ।