अर्थमन्त्री भन्छन्: ‘सागका लागि बजेट अभाव हुँदैन, पोखरालाई स्पोर्टस टुरिजम हब बनाउनुपर्छ’

0
Shares

अर्थमन्त्री डा. युवराज खतिवडाले १३ औं दक्षिण एशियाली खेलकुदको लागि पोखरामा भइरहेका पुर्वाधार निर्माणको निरीक्षण गर्दै बजेटले अवरोध नहुने बताएका छन् । ‘पुर्वाधारको लागि स्रोत सुनिश्चित गरेका छौं ।’ उनले भने–‘पुर्वाधार तयार पार्न बजेटले अवरोध हुदैन् ।’

अर्थमन्त्री खतिवडाले पुर्वाधारको कामलाई युद्धस्तरमै लैजान जोड दिए । दिनगन्तीले सागको लागि ७३ दिन मात्रै बाँकी छ । ‘हरेक दिनलाई गणना गरेर काम गर्ने हो भने पुर्वाधार तयार हुन्छ ।’ मन्त्री खतिवडाले भने–‘त्यसको लागि युद्धस्तरमै काम गर्नुपर्छ ।’ उनले ३६ दिनमा ३ हजार दर्शक अटाउने पुर्वाधार बनाएर बौद्ध सम्मेलन गरिएको प्रसंग उठाउँदै हरेक दिनलाई गणना गरेरै काम गर्नुपर्ने बताए ।

साग गेम्सको केही इभेण्ट पोखरामा आयोजना हुने छन् । उनले साग गेम्ससँगै पोखरालाई स्पोर्टस टुरिज्म हबको रुपमा विकास गर्नुपर्नेमा जोड दिए । सरकारले सागका लागि १ अर्ब रुपैयाँ छुट्टाएको छ । जसमध्ये ४० करोड रुपैयाँ पुर्वाधारमा खर्च गर्ने गरी छुट्टाइएको छ ।

पोखरामा ८ खेल आयोजना गरिने छ । महिला फुटबल, आर्चरी, ह्याण्डबल, ट्रायथोलन, महिला क्रिकेट(प्रस्ताव), प्याराग्लाईडिङ, भारोत्तोलन तथा बिच भलिबल प्रतियोगिता आयोजना गरिने छ ।