कर नतिर्नेलाई कडा कारवाही

0
Shares

आन्तरिक राजश्व कार्यालय हेटौँडाद्वारा मकवानपुरको बेग्लाबेग्लै दुई स्थानमा व्यवसायी र उद्योगीहरुसँग करदाता शिक्षा सम्बन्धमा दुईदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

मकवानपुर उद्योग वाणिज्य सङ्घको समन्वयमा आयोजित कार्यक्रम मकवानपुरको वाग्मती गाउँपालिकाको राईगाउँ र फापरबारीमा सम्पन्न भएको हो ।

सो अवसरमा उद्योगी व्यवसायीहरुले कर तिर्ने सम्बन्धमा विभिन्न जिज्ञासा राखेका थिए । उक्त अवसरमा करदातासम्बन्धी प्रशिक्षण दिँदै आन्तरिक राजश्व कार्यालयका प्रमुख सन्तबहादुर ढकालले उद्योग व्यवसाय चलाउने तर करको दायरामा नआउने तथा कर नतिर्नेहरुको व्यापक अनुगमन भइरहेको बताए । उनले कर नतिरेर कालो सूचीमा परेका उद्योगी व्यवसायीहरु समयमा कर तिर्नुपर्ने नभए व्यक्तिगत सम्पत्ति खोजी असुलउपर गरिने बताए ।

कार्यक्रममा आन्तरिक राजश्व कार्यालयका कर अधिकृत सरोज ढकालले सरकारको कर नीतिका बारेमा जानकारी गराएका थिए । यसैबीच हेटौँडास्थित आन्तरिक राजश्व कार्यालयमा स्थायी लेखा नम्बर लिनका लागि उद्योगी व्यवसायी र सर्वसाधारणको भिड लाग्ने गरेको बताइएको छ ।